घिमिरेलाई कीर्ति स्मृति पुरस्कार

पोखरा, १९ चैत। समाजसेवी कीर्तिबहादुर केसीको नाममा स्थापना गरिएको कीर्ति स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरिएको छ।

एक कार्यक्रमका बीच पुरस्कारका संस्थापक समाजसेवी तथा पूर्व सांसद सूर्यबहादुर केसीले पुरस्कार वितरण गरे।

पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रुपैयाँ र सम्मानपत्र छ।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिवहादुर केसीको स्मृतिमा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापना गरिएको पुरस्कार पहिलोपटक वितरण गरिएको हो।

सन् १९८० देखि पत्रकारितामा सक्रिय घिमिरे काठमाडौंबाट प्रकाशन हुने अन्नपूर्ण पोष्ट दैनिकको प्रधान सम्पादका रूपमा कार्यरत छन्। भारतको पटनामा बसेर युनाईटेड न्यूज एजेन्सीबाट उनले पत्रकारिताको शुरुवात गरेका उनी बीबीसी नेपाली सेवा, कान्तिपुर दैनिक, दी काठमाण्डौं पोष्ट, नागरिक दैनिक, हुँदै अन्नपूर्ण पोष्टमा आवद्ध भएका हुन्।

उनले समय साप्ताहिकमा समेत सम्पादकको रूपमा काम गरिसकेका थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अहिलेसम्म भारतको इण्डीयन एक्सप्रेसमा साप्ताहिक स्तम्भ लेखिरहेका छन्।

घिमिरेलाई सम्मानपछि बोल्दै पुरस्कारका संस्थापक तथा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टका संरक्षक सूर्यबहादुर केसीले राष्ट्रका बारेमा चिन्तन गर्ने निर्भीक पत्रकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए।

उनले पत्रकार सँधै प्रतिपक्षीको भूमिकामा रहनुपर्ने भन्दै भएगरेका गल्ती कमजोरी विरुद्ध कलम चलाउन सुझाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, रामकृष्ण ज्ञवालीलगायतले उत्कृष्ट प्रतिभा छनौटले पुरस्कारको गरिमा बढेको बताए । पुरस्कृत ब्यक्तित्वबारे अन्नपूर्ण पोष्टका पोखरा ब्यूरो प्रमुख केशवशरण लामिछानेले जानकारी गराएका थिए भने प्रतिभा छनौटका विषयमा छनौट समितिका संयोजक बद्रीविनोद प्रतिकले स्पष्ट पारेका थिए।

हरेक वर्ष राष्ट्रियस्तरको पुरस्कार सञ्चालनका लागि सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टले नेपाल पत्रकार महासंघ कास्कीको नाममा ११ लाख ११ हजार एक सय ११ रुपयाँको अक्षयकोष स्थापना गरेको छ भने त्यसको व्यवस्थापन पत्रकार महासंघ कास्कीले गर्ने भएको छ। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता