नियमावली संशोधन विरुद्ध निर्माण व्यवसायी आन्दोलित

पोखरा, १९ चैत। सरकारले निर्माण व्यवसायीलाई बेवास्ता गर्दै मन्त्रीपरिषद् निर्ण बाट सार्वजनिक खरिद नियमावली, २०६४ को पाँचौं संशोधन गरेको भन्दै यस विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ।

संशोधित व्यवस्थामा एक करोडसम्मको निर्माण आयोजना बनाउन उपभोक्ता समितिलाई दिने उल्लेख छ। यसअघिको नियमावलीमा ६० लाखसम्मको निर्माण आयोजना उपभोक्तालाई दिइने प्रावधान थियो।

सरकारले ल्याएको उक्त नियमावली नहटाए काम ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ। चैत २२ गतेका दिन बिहान १० बजे सबै जिल्ला संघको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी संशोधन फिर्ता लिन सरकारलाई दवाव दिने, सोही दिन १ बजे सबै जिल्ला संघहरूले प्रधानमन्त्रीको नाममा सम्बोधन गरी सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने, ५ वटै क्षेत्रीय संघहरूले क्षेत्रीय प्रशासनको कार्यालयमा गई क्षेत्रीय प्रशासकमार्फत बुझाउने र २०७४ साल वैशाख ७ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएको छ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको पोखरामा शनिबार आयोजित २५ औं साधारणसभामा केन्द्रीय पदाधिकारीले यो संशोधनले निर्माण उद्योग र समग्र मुलुकको आर्थिक र भौतिक पूर्वाधार विकासमै नकारात्मक असर पुग्ने बताए।

प्रमुख अतिथि महासंघका अध्यक्ष शरदकुमार गौचनले उपभोक्ताबाट गरिदै आएका भौतिक पूर्वाधार निर्माण कार्यको कुनै समीक्षा नगरी आएको नियमावलीले राजनीतिक भरणपोषणलाई मात्र बढाउने उल्लेख गरे। उनले उपभोक्ता समितिमा दलिय भागबण्डामा गठन हुने हुँदा कमिसनको खेल र निर्माण कार्यमा गुणस्तर नहुने दाबी गरे। उनले अब राजनीतिक मुद्धा टुंग्याएर विकास निर्माणमा होमिन ढिलाई गरे मुलुक नराम्ररी पछि पर्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्र कानुन लाग्ने गरेको गुनासो गर्दै सरकारी कर्मचारी, इञ्जिनियरलाई कहिल्यै कानुनी दायरामा ल्याउन नसकेको उनले निर्माणमैत्री ऐन हुनुपर्नेमा जोड दिँदै नीति दिए देश बनाउन तयार रहेको उल्लेख गरे। उपाध्यक्ष रुद्र शर्माले निर्माण व्यवसायीमा पनि व्यवसायिकता आवश्यक रहेको भन्दै अब पेशा व्यवसाय संचालनको क्रममा धेरै सिक्न जरुरी रहेको उल्लेख गरे। नेपालभर ११ हजार चार सय ८० निर्माण व्यवसायी रहेको उनको भनाई थियो।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं सल्लाहकार सुकुन्तलाल हिराचनले अब बौद्धिक रूपमा निर्माण व्यवसायी लाग्नुपर्ने बताए। अबको पुस्ता धेरै पढेर आउने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा होमिन सक्ने गरी आफू तयार हुनुपर्ने सुझाव दिए।

प्रमुख सल्लाहकार शिवशंकर गौचन, महासंघका सदस्य महेन्द्र अधिकारी, महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष एवं सल्लाहकार ओमप्रकाश गौचन, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य युवराज पौडेल, राप्रपाका पोखरा नगर अध्यक्ष रमेश खत्री, राष्ट्रिय जनमोर्चाका इञ्चार्ज शंकर बराल, उपत्यका नगर विकास समिति अध्यक्ष प्रकाशमोहन खनाल, पूर्व अध्यक्ष एवं सल्लाहकार राजेन्द्र पहारी, चिरञ्जीवि पोखरेल, मुक्तिप्रसाद तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष कृष्णहरि भण्डारी, स्याङ्जा निर्माण व्यवसायी संघ सल्लाहकार राजेश मल्ल, छिमेकी जिल्ला तनहुँबाट संघ अध्यक्ष बसन थापा, निवर्तमान अध्यक्ष ऋषिराम गौतमलगायतले बोलेका थिए।

संघ कास्की अध्यक्ष बासुदेव गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिप्रसाद लम्सालले वाषिर्क प्रतिवेदन तथा कोषाध्यक्ष सुवर्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

वरिष्ठ उपाधयक्ष सुरेश श्रेष्ठले स्वागत गरेको सो कार्यक्रममा अग्रज व्यवसायीहरू मैया अधिकारी, रतन गौचन र भोजबहादुर नेपालीका साथै एसएलसी उत्तीर्ण प्रकट खनाल र सपना बराललाई सम्मान पनि गरिएको थियो। केन्द्रीय अध्यक्ष गौचन कास्की संघको संस्थापक अध्यक्ष हुन्।

- अादर्श समाज सम्वाददाता