नेपाल-चीन सम्बन्धमा नयाँ आयाम : प्रधानमन्त्री

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण पूर्ण सफल र उपलब्धिमूलक रहेको बताएका छन् ।

साताव्यापी चीन भ्रमणबाट स्वदेश फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्रीहरु, विदेश विभाग प्रमुखका साथै तिब्बतमा पार्टीप्रमुख र सरकार प्रमुखसँग महत्वपूर्ण भेटवार्ता भएको तथा बोआओ फोरमलाई सम्बोधन गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा दुवै देशमा रहेका अवसर र सम्भावनालाई भरपूर सदुपयोग गर्दै आपसी सदभाव अगाडि बढाउन दुवै देश सहमत भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिएको बताए ।

नेपालमा रेलमार्ग निमार्णय सडक, सिमापार विद्युत् प्रसारण लाइन, भूकम्पपछिको पुनर्निमार्णया सहयोगको प्रतिवद्धता व्यक्त भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सिमापार आर्थिक विकास, रसुवागढी स्याप्रुवेसी सडक खण्ड स्तरोन्नति गर्न सम्झौताका लागि मातहतका निकायलाई निर्देशन दिने सहमति भएकोसमेत जानकारी दिए ।

प्रधानमन्त्रीले अगाडि भने-’भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका खोल्न राष्ट्रपतिलाई आग्रह गर्दा उहाँ आफैले उक्त नाका खोल्न आफूले ब्यक्तिगतरुपमा ध्यान दिएको बताउनुका साथै नेपालमा रेल ल्याउने तथा चिनिया पर्यटकको नेपाल भ्रमणकाबारेमा पनि सकारात्मक चासो देखाउनु भयो ।’

यसैगरी, भ्रमणक्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न चाहने र गरिरहका चिनिया कम्पनीका प्रमुखहरुसँग नेपालमा लगानीको विषयमा विजनेस ग्राउण्ड टेबललाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिए ।

ल्हासामा रहँदा तिब्बल स्वाशासित क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव उ इन जेसँग महत्वपूर्ण कुराकानी भएको र यो छलफलले तिब्बत जनसरकारसँग मित्रवत प्रगाढ सम्बन्धलाई अझ सुदृढ गर्न र दुर्इपक्षीय सहयोगलाई अगाडि बढाउन मद्दत पुग्ने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउन, नेपाली उत्पादन चिनियाँ बजारमा सहजरुपमा प्रवेश गराउनेबारे आफूले प्रस्ताव राखेको बताउँदै पारबहन यातायात सम्झौताको प्रोटोकल तयार गरी तत्काल सम्झौता गर्न, ब्यापार घाटा कम गर्न चीनले सहयोग गर्न, बन्द रहेका नाका खोल्न आग्रह गरेको जानकारी दिए ।

चिनियाँ राष्ट्रपतिले सन् २०१७ लाई चीनमा नेपाललाई पर्यटन प्रवर्द्धनको वर्षको रुपमा लिँदै नेपालमा चिनियाँ पर्यटक पठाउन विभिन्न कार्यक्रम गरी नेपाल भ्रमणप्रति अभ्रि्ररित गर्ने बताए ।

नेपालमा लगानी गर्न चाहने र गरिरहका करिब दुर्इ दर्जन चिनिया कम्पनीका प्रमुखहरुसँग नेपालमा लगानीको विषयमा नेपाली राजदूतावास वेइजिङ र चाइना काउन्सिल अफ प्रोमोसन इन्टरनेश्नल ट्रेडले संयुक्तरुपमा आयोजना गरेको विजनेश ग्राउण्ड टेवललाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको पनि उनले जानकारी दिए ।

बोआओ सम्मेलनमा विश्वब्यापीकरण र स्वतन्त्र ब्यापारका सम्बन्धमा अति कम विकसित तथा भूपरिवेष्ठित साना स्वतन्त्र भएका देशहरुको चासो ब्यक्त गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आपसी विश्वास र सम्बन्ध सुदृढ भएको, पर्यटन, पूर्वाधार, उर्जा, लगानी विकासका विषयमा थप सहयोग विस्तार हुने आधारशीला निर्माण भएको बताए ।

यसैबीच, प्रधानमन्त्री दाहालले समसायिक राजनीतिबारे पत्रकारसँग कुरा गर्दै सहमति भएका विषयमा अहिले नै र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने गरी अघि बढ्ने बताए ।

आफूले चीन जानुअघि नै सहमति गर्न चाहेको तर सम्भव नभएको भन्दै उनले अब भने एउटा बैठक बसेर बाँकी रहेका असहमतिहरु टुंगो लगाउने र उक्त सहमतिपछि मधेसी मोर्चा पनि चुनावमा जाने विश्वास व्यक्त गरे ।

- अादर्श समाज सम्वाददाता