पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल

पोखरा, १६ चैत।अपांग खेलकुद समिति कास्की र स्वावलम्बन जीवन पद्दति समाज नेपालको संयुक्त आयोजनामा चैत २० र २१ मा पोखरा रंगशालामा पाँचौ राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

काठमाडौ, चितवन र कास्की गरी छ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिता संयोजक भरतविक्रम बानियाँले समाजमा अपांगता भएका व्यक्तिप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकियोस् भन्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए ।

उनका अनुसार नेपाल आर्मी, हृवील चियर खेलकुद संघ, स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघ, जाउलाखेल खेलकुद संघ, ह्वील चियर स्पोर्टस् एशोसिएसन भरतपुर र आयोजकले भाग लिने छन् ।

लिगकम नकआउट आधारमा खेलाइने उक्त प्रतियोगितामा भिवोर डेभलपमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ । बैंक अध्यक्ष सुशीलराज पराजुलीले खेलले समाजमा केही गर्न सिकाएको उल्लेख गर्दै आफूहरुले पनि सामाजिक उत्तरदायित्व बहनस्वरुप सहयोग गरेको बताए । मुख्य प्रायोजनवापत बैंकले डेढ लाख रुपैयाँ सहयोग गरेको छ । खेलका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

विजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय हुनेले पाँच हजार साथमा ट्रफी, मेडल पुरस्कार पाउनेछन् । खेलमा उत्कृष्ट खेलाडी र हाइस्कोररलाई मोवाइल दिइनेछ  ।

प्रतियोतिगाको उद्घाटन दिन सहभागि सम्पूर्ण टिमका खेलाडीहरुलाई बाजागाजाको सम्मान सहित पोखरा रंगशालामा पुर्‍याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले उक्त बाजाको प्रबन्ध मिलाउने भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफि मेडल, द्वितीय हुनेले नगद १० हजारसहित ट्रफि मेडल तथा तृतीय हुने समुहले पाँच हजारका साथमा ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

विजेताको पुरस्कार प्रायोजन गरेको गोर्खा एण्ड बराह ज्वेलरीका तर्फबाट प्रबन्ध निर्देशक हरिकुमार धमलाले असहायको जीवनस्तर उकास्न ज्वेलरीले सहयोग गर्दैआएको बताए ।

अपांग खेलकुद समिति कास्कीका अध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक बानियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सञ्चालन स्वावलम्बन जीवन पद्दति समाज नेपालका महासचिव हेम गुरुङले गरेका थिए । प्रतियोगिताको साविक विजेता जाउलाखेल खेलकुद संघ हो । यसैबीच, उद्घाटनका दिन पोखरा सभागृहबाट रंगशालासम्म ह्वीचियर र्‍याली निकालिने छ । जसमा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीबाट व्याण्डबाजाको एक टिमले सहभागिता जनाउनेछ भने सहभागी टिमका खेलाडीलाई सम्मान गरिनेछ ।

- अादर्श समाज सम्वाददाता