चैत्र १८ मा एमाले कास्कीको सभा

पोखरा, १६ चैत। नेकपा एमाले कास्कीले चैत १८ गते पोखरामा सभा गर्ने भएको छ।

स्थानीय तह निर्वाचनका लागि पार्टीको नीति स्पष्ट पार्ने भन्दै एमालेले चिप्लेढुंगामा सभा गर्न लागेको हो। निर्वाचन लक्षित गरी चुनावी सभा भने पछि हुनेछ ।

एमाले कास्कीले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी सभामा २० देखि २५ हजार कार्यकर्ता उपस्थिति गराउने दाबी गरेको छ। ‘धेरै कार्यकर्ता उतार्दा एमालेले कास्कीमा सबै तह जित्ने भो भनेर त्रास छाउन सक्छ, त्यसैले यसपटक एक/डेढ लाख कार्यकर्ता उतार्ने तयारीमा छैनौ’- एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने-’शक्ति प्रदर्शन गर्ने बेला आउँदैछ, त्यति बेला नै धेरै उतारौंला।’

उनले एमालेप्रतिको आकर्षण बढ्दै गइरहेको दाबी गरे। सभामा भाषणमाभन्दा पनि पार्टीप्रवेश गराउने काममा बढी समय लाग्ने उनको भनाइ छ।

एमालेले सभालाई लक्षित गरी वडास्तरसम्म भेला, बैठक, छलफल र जनपरिचालनका अभियान भने जारी राखेको छ।

सभा शुरु हुनु पूर्व पोखराका तीन स्थानबाट जुलुस निकालिने छ। पोखराको बगर, रानीपौवा, सृजनाचोकबाट शुरु हुने र्‍याली चिप्लेढुंगामा पुगेर सभामा परिणत हुने प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए।

एमाले कास्कीले सबै पक्षसँग छलफल गरी वैशाख पहिलो साताभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने पनि जनाएको छ। गाउँपालिका र वडाको घोषणापत्र तयारीका लागि स्थानीय कमिटीलाई नै जिम्मा दिइएको छ।

एमाले कास्कीले दबाब र प्रभाव परेर निर्वाचनमा उम्मेद्वार छनोट र सिफारिस दुवै नगर्ने स्पष्ट पारेको छ।

एमालेले विजयी हासिल गरे कास्कीलाई १० देखि १५ वर्षभित्र गरिबीमुक्त जिल्ला बनाउने अध्यक्ष थापाले दाबी गरे।

- अादर्श समाज सम्वाददाता