इको पार्टीको हस्तकला तालिम

पोखरा, १५ चैत। पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सहयोगमा इको पार्टीनेपालले पोखरामा आयोजना गरेको प्रयोग भएका प्लाष्टिकबाट हस्तकलाका सामाग्री तयार पार्ने तालिम सकिएको छ। तालिम चैत ८ देखि शुरु भएको थियो।

तालिममा प्रयोग गरिएको प्लाष्टिकबाट ढकिया, बास्केट, चकटीलगायत सामाग्री बनाउन सिकाइएको थियो। तालिममा प्रशिक्षक योगमाया गुरुङ, गङ्गा गुरुङ, मीना गुरुङ र धना गुरुङले सहजीकरण गरेका थिए।

तालिममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १०, १२ र १३ का ५० महिला सहभागी थिए।

तालिम समापनमा पोखरा लेखनाथ महानगरपालिकाका वातावरण शाखा प्रमुख निर्मलमानसिंह भण्डारीले वातावरण बिगार्ने र मानव स्वास्थ्यमा असर पार्ने फोहोर मैला व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताए।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का सचिव श्रीकान्त तिमिल्सिनाले महिलाहरुले तयार पारेका सामाग्रीको बजार व्यवस्थापनका लागि सहयोग गर्ने उल्लेख गरे।

पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले हरेक व्यक्तिका लागि सीप ठूलो सम्पत्ति भएको बताए।

उक्त अवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सञ्चारकर्मी शान्ति गुरुङ, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहकी निवर्तमान अध्यक्ष शान्तदेवी गुरुङ, प्रशिक्षार्थी शुष्मा आचार्य, लक्ष्मी विक र लिलावती सुनारले बोेलेका थिए।

इको पार्टीनेपालकी अध्यक्ष धना गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव विष्णु गुरुङले सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता