प्रमद्वारा बोआओ मञ्चलाई सम्बोधन

भूपरिवेष्ठित देशले सहज पारवहन पाउनुपर्नेमा जोड

काठमाडौं, १२ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले भूपरिवेष्ठित देशले सहज पारवहन पाउनुपर्ने बताएका छन्।

चीनको पर्यटकीय नगरी बोआओमा शनिबार एशियाली मञ्चको वाषिर्क सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले विश्वव्यापीकरणको एसियाली मोडल विकास गर्नुपर्ने पनि बताए।

एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ भएको भन्दै प्रधानमन्त्री दाहालले सम्बोधनमा ‘विश्व अर्थतन्त्रलाई गति दिने र आविष्कारको हव बन्ने दिशमा एशिया अघि बढेको’ जनाए।

समावेशितालाई अनिवार्य गर्न सकेमा २१ औं शताब्दी भाग्योदय र साझा फाइदाको शताब्दी बन्ने बताउँदै प्रधानमन्त्रीले विश्वव्यापीकरणलाई एशियाली मोडल बनाएर अघि बढ्नुपर्ने सुझाए। नेपालजस्ता भूपरिवेष्ठित मुलुकलाई ड्युटी प|mी, लचिलो व्यापार प्रक्रिया, क्षमतायुक्त व्यापारको वातावरण, सहज पारवहनलगायतमा सहुलियत दिनुपर्ने प्रधानमन्त्री दाहालले औंल्याए।

उनले भने-’विश्वव्यापीकरणले विकास, प्रगति र समृद्धिलाई मलजल गरेको छ र यसले केही दशकमै कनेक्टिभिटी, गतिशीलता र समावेशीताजस्ता आधारभूत कुरामा व्यापक परिवर्तन ल्याएर मानव जीवनस्तर उकासेको छ।’

सम्मेलन शनिबार बिहान उद्घाटन भएको हो। सम्मेलनमा प्रधानमन्त्री दाहालले ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार’ शीर्षकमा आफ्नो सम्बोधन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनमा विश्वव्यापीकरण र स्वतन्त्र व्यापारले सीमान्तकृत र पछि पारिएको समूहलाई पनि अगाडि ल्याउनुपर्ने बताउँदै विश्वव्यापीकरणले विश्वलाई समृद्ध बनाएको तर्क गरे।

तर पनि यसको समान पहुँचमा सबै एशियाली देशले पर्याप्त लाभ लिन नसकेकोतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए। बोआओ मञ्चको वाषिर्क सम्मेलन शनिबार चिनियाँ उपप्रधानमन्त्री चाङ् काउलीले उद्घाटन गरेका थिए।

- अादर्श समाज सम्वाददाता