संकेत र संगीतमा सांगीतिक प्रस्तुति

पोखरा, ८ चैत। पोखरा सभागृह सधैँ सांगीतिक र सांस्कृतिक कार्यक्रम हुने थलो हो। तर त्यही थलोमा शनिबार एउटा पृथक सांगीतिक कार्यक्रम भयो।

कार्यक्रममा स्वर्णीमा गुरुङ र मुना मगर म्यूजिकको ट्रयाकमा नाचिरहेका थिए।

नृत्य प्रदर्शन गर्ने दुवै छात्रा सिर्जना बाहिरा संघका बहिरा छात्रा थिए। जो संकेतका आधारमा म्यूजिकको सुर तालमै नाचिरहेका थिए। मञ्चको एक छेउमा बसेर सोही विद्यालयका शिक्षक प्रमिला र उमा श्रेष्ठले थरीथरी संकेत गरेर उनीहरूलाई सघाइरहेका थिए।

झट्ट सुन्दा अनौठो जस्तो लाग्न सक्छ, तर कुनै कथा कहानी नभइकन वास्तविकता नै थियो। यो अवसरको जाँचोपाँजो नटराज संगीत कला प्रशिक्षण केन्द्र र लामाचौर अपाङ्गता स्वावलम्बन समाज नेपालले जुराएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल अपाङ्ग महासंघका जिल्ला अध्यक्ष हेम गुरुङले फरक क्षमता भएका व्यक्तिलाई दया मायाभन्दा पनि अवसरको खाँचो रहेको बताए।

पोखरा लेखनाथ नगरपालिकाका प्रशासकीय प्रमुख अनन्तप्रसाद कोइरालाले शिक्षा, स्वास्थ्य र रोजगारमा सहयोग गर्नका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउँदै भने-’समाजमा अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ।’

अपाङ्ग महिला शसक्तिकरणका अध्यक्ष अञ्जना केसीले देशमा धेरै परिवर्तन आए तापनि अपाङ्ग मैत्री संरचना अझै स्थापना भएकोमा अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा समस्या रहेको बताइन्।

गण्डकी बहिरा संघका अध्यक्ष जमानसिंह गुरुङले बहिराहरूलाई सरकारले अनुत्पादक जनशक्ति सम्झेर उपेक्षा गरेको धारणा व्यक्त गरे। उनले सरकारले दिएको यातायातको ५० प्रतिशत छुट कागजमा मात्रै सीमित रहेको बताउँदै माछापुच्छे हिमाजजस्तो स्वच्छ र सफा छ त्यस्तै सफा मन र विचार सबैमा हुनुपर्ने बताए।

नवआदर्श सामुदायिक विकास समाजका कार्यसमिति सदस्य कृष्ण अन्ज्ञान ज्ञवालीले पोखरामा मै हुँ भन्नेहरू कफी सपमा चुड्की बजाइरहेको बेला सभागृहको हलमा सभ्य र भव्य रूपमा कार्यक्रम सफल पार्नुले पछिल्लो समय फरक क्षमता भएका व्यक्तिको कार्यक्षमता क्लाइमेक्समा पुगेको बताए।

बुल्सम्यान क्लबका सचिव अनिश गुरुङले आफ्नो क्लबले संस्थाका गतिविधि र फरक क्षमता भएकालाई सधँै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सोही समारोहबीच बहिराहरूका लागि विद्यालय स्थापना गरेको योगदानको कदर गर्दै सिर्जना विकास केन्द्र, संस्थालाई मार्गनिर्देशन गर्ने कृष्ण अन्जान ज्ञवाली र साहित्यकार असफल गौतमलगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

उक्त समारोहमा सुमन परियार, प्रतिभा पौडेल, होमनाथ पौडेल, ऋतिका गुरुङ, दीपशिखा श्रेष्ठ, हेलेना श्रेष्ठ, बिग आइकन टप थ्रि फाइनलिष्ट प्रिया गुरुङ, लालीगुराँस पुन मगर समाज, क्यानभाष डान्स सेन्टर, बलराम गिरी, लामाचौर आमा समूहलगायत संस्थाले पनि प्रस्तुति राखेका थिए।

सांगीतिक प्रस्तुति राख्ने अधिकांश कलाकार फरक क्षमताका, कोही शारीरिक अशक्त, कोही बौद्धिक अशक्त, कोही दृष्टिविहीन, कोही सुस्तश्रवण थिए त कोही बहिरा थिए। नटराज संगीत कला प्रशिक्षण केन्द्रका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण डुम्रेले गरेका थिए।

- अादर्श समाज सम्वाददाता