दलहरूबीच समझदारी नहुनु गम्भीरः आयोग

काठमाडौं, ६ चैत । स्थानीय चुनावको तयारीमा जुटेको निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउन दलहरुबीच समझदारी नहुनुले आयोगलाई गम्भीर बनाएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरुबीच अपेक्षित सहमति र सहकार्य बन्नुपर्ने भन्दै तत्काल सहमति कायम गरी निर्वाचनमा जुट्न सबै राजनीतिक दल र मतदातालाई आग्रह गरेका छन् ।

स्थानीय निर्वाचन घोषणापछि पहिलो पटक आइतबार आयोग परिसरमै स्थापना भएको मिडिया सेन्टरमा विषेश पत्रकार सम्मेलन आयोजना गर्दै आयोगले निर्वाचनको तयारी तीव्ररुपमा अघि बढाइसकेकोले निर्वाचनको लागि तत्काल दलहरुबीच समझदारी जुटाउन र चुनावको वातावरण निर्माण गर्न आग्रह गरेका छन् । ‘आयोगले सरकारसँग पटक पटक छलफल गरेको छ, सरकार सहमति निर्माणको प्रतिबद्धता पनि आएको छ, म आशावादी छु दलहरुबीच छिट्टै सहमति निर्माण हुनेछ’- पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले भने । आइतबारबाटै निर्वाचन मतपत्र छपाउने कार्य शुरु भइसकेको भन्दै आयोगले निर्वाचनसम्बन्धी सबै कानुन निर्माण भइसकेको र सोहीअनुरुप आयोग अघि बढिसकेको पनि उनले बताए ।

प्रदेश नम्बर २ को अवस्था जटिल नै रहेको भन्दै उनले हालै भएको भेटमा प्रधानमन्त्रीले दलहरुसँग छलफल गरेर चुनावको वातावरण बनाउने आश्वासन दिएको बताए । निर्वाचनका लागि ७६ प्रकारका सामग्री आवश्यक रहेको र त्यसको तयारीमा जुटेको उनले जानकारी दिए।

लामो समयपछि हुन लागेको र संविधानले प्रदान गरेका अधिकारहरूलाई प्राप्त गर्न यो निर्वाचन एक मात्र वैधानिक बाटो भएको उल्लेख गर्दै यादवले यसपटक स्थानीय सरकारमा महिला, दलित, अल्पसंख्यकसहितको समावेशी प्रतिनिधित्व रहने बताए ।

संवैधानिकरूपमा नै स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । ‘यस निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने र दलित तथा अल्पसंख्यकसहितको समावेशी स्वरूपको स्थानीय सरकार बन्ने छ’- उनले भने।

स्थानीय निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने भन्दै सहयोग गर्न उनले आग्रह गरे । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वासनीय बनाउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका भएकोले निर्वाचनको संवेदनशीलतालाई मनन गरेर अझ बढी संवेदनशील भई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरी निर्वाचनको अभियानलाई सफल बनाउन उनले सञ्चारमाध्यमसँग अपील गरे ।

आयोगले निर्वाचनको तयारी उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिदै स्थानीय तह निर्वाचनमा सात सय ४४ वटा स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने गरी अगाडि बढाएको जनाएको छ ।

यस निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र दुर्इ सय ४६ नगरपालिकाका लागि दुर्इ सय ६३ जना प्रमुख र उपप्रमुख गरी सात सय २६ जना निर्वाचित हुने छन् ।

यसैगरी, चार सय ८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी नौ ६२ जना निर्वाचन हुने छन् । छ हजार छ सय ८० वडाबाट त्यतिकै संख्यामा वडाअध्यक्ष र देशभरबाट २६ हजार सात सय २० वडा सदस्य निर्वाचित हुने पनि आयोगले जनाएको छ ।

संविधानले व्यवस्था गरेअनुसार यो निर्वाचनबाट १३ हजार तीन सय ६० जना महिला र त्यसमा छ हजार छ सय ८० दलित महिलाको प्रतिनिधित्व हुने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीलाई यही चैत २० गतेसम्म अन्तिम रूप दिने तयारीका साथ प्रशोधनको काम भइरहेको र करिब एक करोड ४० लाख मतदाताको संख्या हुने आयोगको अनुमान रहेको जनाएको छ ।

निर्वाचन आयोगमा एक सय १३ वटा राजनीतिक दलहरू दर्ता भएका र जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा ४७ वटा दलहरू दर्ता भएका र मनाङ जिल्लामा ६ वटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता