हिन्दू राष्ट्र माग गर्दै संविधान संशोधन दर्ता

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दू राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाका छ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधनः र्ँधर्मनिरपेक्ष’ भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र’ भन्ने वाक्यांश राख्ने।

राप्रपाका कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका छ सांसदले विधेयक दर्ता गरेका हुन् । यो गैरसरकारी विधेयकका रुपमा दर्ता भएको हो ।

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो । राप्रपाले दर्ता गरेको संशोधन विधेयक सभामुखले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जाने छ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राप्रपाको विधान कटौती संविधान अनुसार नै भएको बताएका छन् । कुन ऐन र दफा अनुसार राप्रपाको विधान कटौती भएको हो भन्ने प्रश्नमा प्रमुख आयुक्त यादवले भने-’नेपालको संविधान २०७२’ अनुसार भएको हो। संविधान अनुसार आयोगले सोच विचार गरेरै निर्णय गरेको यादवको भनाइ थियो।

आयोगलाई कुनै पनि राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह राख्नु आवश्यक नरहेको भन्दै यादवले संविधानमा नै गणतन्त्रात्मक राष्ट्र र धर्म निरपेक्षता भन्ने स्पष्ट भएपछि त्यसविरुद्धमा यहाँका दलहरुले आफ्ना दस्तावेज निर्माण गर्न नसक्ने स्पष्ट पारे । राप्रपालाई आफ्नो विधान सच्याउन आग्रह गरे पनि नसच्याएकोले विधानबाट ती बुँदाहरु हटाउनु परेको पनि प्रमुख आयुक्त यादवले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता