आइजीपी नियुक्ति विवाद फैसला आज

काठमाडौं, ६ चैत । एक महिनादेखि सवोर्च्च अदालतमा अल्झिएको प्रहरी प्रमुख नियुक्ति विवादसम्बन्धी मुद्दाको सोमबार टुंगो लाग्‍ने भएको छ ।

सवोर्च्चको पूर्ण इजालसमा आइतबारदेखि शुरु हुने भनिएको अन्तिम सुनुवाइमा महान्यायाधिवक्तासहित विपक्षी वकिलहरुले बहिष्कार गरेपछि अदालतले सोमबार नै फैसला सुनाउने तयारी गरेको हो ।

प्रधानन्यायाधीशले इजलासमा एकलौटी निर्णय गरेको भन्दै सरकारी वकीलका तर्फबाट बहस बहिस्कार गरिएको बताइएको छ । सरकारका तर्फबाट बहस गर्ने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलगायतका वकिलहरुले प्रधानन्यायाधीशले आफ्नो निर्णय नसच्यायसम्म बहस नगर्ने भएका छन् ।

पूर्ण इजालसमा प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

गत चैत ३ गते पनि चन्द पक्षका वकिलहरुले अन्तरिम आदेश दिने न्यायाधीश नै अन्तिम सुनुवाइमा संलग्‍न भएको भन्दै संयुक्त इजालस अस्वीकार गरेका थिए । हरिकृष्ण कार्कीसहितको इजालसले चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । आइतबार निवेदकका तर्फबाट भीमार्जुन आचार्य, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए।

गत फागुन १ गते बिहान मन्त्रिपरिषद्ले जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेको थियो । त्यसको केहीबेरमै सवोर्च्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिमकालीन आदेश जारी गरेको थियो । मन्त्रिपरिषद्को निर्णय लगत्तै डिआइजी सिलवालले पनि आफूलाई अन्याय भएको भन्दै सवोर्च्चमा रिट दर्ता गराएका थिए ।

अधिवक्ता कपिलदेव ढकालले सरकारको निर्णय आउनुअघि नै वरिष्ठतालाई मिचेर आइजीपी नियुक्त गर्न लागिएको भन्दै माघ २८ गते नै सवोर्च्चमा रिट दायर गरेका थिए । रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइजीपी नियुक्ति सरकारको अधिकार र छनोटको विषय भएकोले यसमा अदालतले हस्तक्षेप गर्न नमिल्ने तर्क गर्दै सरकारको निर्णय कुनै हालतमा नफेरिने जवाफ सवोर्च्चमाा बुझाएका थिए । पहिलो चरणको सुनुवाइ सकेपछि सरकारले सरकारसँग जयबहादुर चन्दलाई किन आइजीपीमा नियुक्त गर्नुपर्ने कारण र आधारसहितको लिखित जवाफ सवोर्च्चमा मागेको थियो ।

- अादर्श समाज सम्वाददाता