सुनचाँदी रत्न आभूषण महासंघमा महर्जन

पोखरा, ६ चैत। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन पुनः चयन भएका छन् ।

पोखरामा तीन दिनसम्म चलेको चौथो वाषिर्क साधारणसभा तथा दोस्रो राष्ट्रिय सम्मेलनले महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ रहेका छन् । सर्वसम्मत् चयन भएको समितिको प्रथम उपाध्यक्षमा रुद्रबहादुर बराइली, द्वितीय उपाध्यक्षमा महेशमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा कृष्णलाल महर्जन, सचिवमा राजमान सुनार र किसान सुनार, कोषाध्यक्षमा द्वारिका विश्वकर्मा, सहकोषाध्यक्षमा जयराम पाण्डे रहेका छन् ।

सदस्यमा विशन शाक्य, मीनबहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला, सुमनमान ताम्राकार, अशोककुमार शाह, घनश्याम रिजाल, मणिकिशोर पाण्डे छन् ।

संशोधित विधानअनुसार थप भएका सदस्यमा देवीलाल विक, ऋषिकुमार ठाकुर, सोमबहादुर विक, नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्राचार्य, विद्यासागर ताम्राकार रहेका छन्।

साधारणसभाले वाषिर्क प्रगति प्रतिवेदन, वाषिर्क कार्य विवरण, विधान संशोधन प्रस्ताव पारित गरेको नवनिर्वाचित सचिव किसान सुनारले जानकारी दिए ।

संशोधित प्रावधान अनुसार सम्मेलनले महासंघको संरचनालाई प्रादेशिकस्तरमा समेत विस्तार गरिने निर्णय गरेको छ ।

यस्तै, सम्मेलनले सुन आपूर्र्ति एवं वितरण प्रादेशिकरुपमा विकेन्द्रित गरिनुपर्ने, बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा नियमनलाई निश्चित मापदण्डअन्तर्गत ल्याउन अबिलम्व निर्देशिका जारी हुनुपर्ने, स्वदेशी रत्न पत्थरको प्रवर्द्धनको लागि महासंघले प्रस्तुत गरेको संयुक्त कार्ययोजना प्रस्तावलाई कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय खानी बोर्ड अविलम्ब गठन हुनुपर्नेलगायत प्रस्ताव पनि पारित गरेको छ ।

पहिलो पटक पोखरामा आयोजित राष्ट्रिय सम्मेलन सर्वसम्मत् नेतृत्व चयन गर्न सफल भएको भन्दै सम्मेलनलाई ऐतिहासिक मानिएको सचिव सुनारको दाबी छ ।

महासंघका अध्यक्ष रमेश महर्जनले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच एकता हुनुपर्ने पक्षमा आफूहरु रहेको जनाउँदै कार्यगत एकता भने रहिरहेको उल्लेख गरे । उनले सरकारले निर्देशिका र ऐनबिना अनुगमन गरेकोमा विरोध गरेको स्पष्ट पार्दै अनुगमन गर्न स्पष्ट मापदण्डका साथ आउनुपर्ने जिकिर गरे ।

उनले ठूलो परिमाणमा सुन तस्करीका घटना सार्वजनिक हुँदा आफूहरु आर्श्चर्यचकित भएको भन्दै सरकारकै प्रश्रयले यस्तो घटना आएको उल्लेख गरे ।वितरण प्रणाली वान डोर सिष्टममा हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्र बैंकलाई पनि धेरै सुझाव दिइसकेको जनाए ।

- अादर्श समाज सम्वाददाता