लागुऔषध नियन्त्रणका लागि जिल्लास्तरीय समिति

पोखरा, ६ चैत। समय-समयमा लागु औषध नियन्त्रण विशेष अभियान सञ्चालन हुँदै आएकोमा अब नियमित निगरानीका लागि जिल्लास्तरीय लागुऔषध नियन्त्रण समिति नै गठन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको अग्रसरमा जिल्ला-जिल्लामा नियन्त्रण समिति गठन हुने जानकारी गराइयो ।

जिल्ला प्रहरी कार्यालयका सहायक कार्यालय प्रमुखको संयोजकत्व तथा कार्यालयका मुख्य वा सहायक लागुऔषध नियन्त्रण अधिकारी सदस्य सचिव रहने गरी गठन हुने समितिमा सामुदायिक प्रहरी, आमा समूह, जनस्वास्थ्य कार्यालय, पुनस्र्थापना केन्द्र, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि सदस्य रहने प्रस्ताव गरियो ।

लागु औषध नियन्त्रण कार्ययोजना २०७३ सार्वजनिक गर्दै क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले यस क्षेत्रमा लागुऔषध कारोबार नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

यही समिति गठन सम्बन्धमा कार्यालयले पोखरामा आइतबार सरोकारवालाबीच छलफल गर्‍यो। सहभागीहरुले डिआइजी पुडासैनीको यो कदम सराहनीय रहेको भन्दै कार्यान्वयनतर्फ जोड दिए ।

पुडासैनीले नेपालमा लागुऔषध प्रयोग र ओसारपसार समस्या विकराल बन्दै गएको भन्दै खुला सीमाका कारण पनि यहाँबाट कारोबार हुने गरेको जनाए ।

तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत यो समस्या बढेको उनको भनाइ थियो । कक्षा ११ पढ्नेदेखि किशोर उमेरका युवायुवती बढी प्रयोगकर्ता रहेको उनले जनाए ।

वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले यस क्षेत्रका लागुऔषधसम्बन्धी गतिविधि जानकारी गराए ।

यस क्षेत्रमा सबैभन्दा बढी रुपन्देहीमा लागुऔषध ओसारपसार तथा प्रयोग गर्नेहरुलाई नियन्त्रणमा लिइएको जनाउँदै त्यसपछि क्रमशः नवलपरासी, कास्की र कपिलवस्तु जिल्लामा रहेको जनाए । तनहुँ, बाग्लुङ, स्याङ्जा, पाल्पा पनि लागुऔषध प्रभावित जिल्ला रहेको उनले जनाए ।

कार्ययोजनामा लागुऔषधजन्य वस्तु खेती तथा उत्पादन नियन्त्रण, ओसारपसार, सञ्चय र भण्डार तथा खरिद बिक्रीमा नियन्त्रण, लागुऔषधको दुर्र्व्यसन नियन्त्रण, लागु औषधविरुद्ध जोखिम पर्न सक्ने तथा सरोकारवाला सबैका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, सडक बालबालिका लक्षित एवं कारागार लक्षित कार्यक्रम, आमसञ्चारलाई उपयोगलगायत समेटिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम र प्रहरी उपरीक्षक घनश्याम अर्यालले प्रहरीले कानुनको पालना गर्दै अघि बढ्नुपर्ने भएकाले सोहीअनुसार समुदायलाई साथमा लिएर अघि बढ्ने बताए ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले लागुऔषध कारोबारीको संगत ठूला मान्छेसँग हुने गरेकाले प्रहरी प्रशासनले समात्ने अनि गुपचुप छाड्ने अवस्था नहोस् भन्दै यो अभियानमा साथ दिन तयार रहेको बताए । नौलो घुम्ती नेपालकी मना ज्ञवालीले लागुऔषध प्रयोगकर्तालाई कुलतबाट छुटाउन प्रहरी हिरासतमा नभई सुधार केन्द्रमा राख्नुपर्नेमा जोड दिइन् ।

लागुपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष विष्णु गुरुङ, सामुदायिक सेवा केन्द्रका पूर्व अध्यक्ष सीता गुरुङ, केन्द्र बगरका अध्यक्ष जीवन अधिकारी, पत्रकार अर्जुन गिरीलगायत बोलेका थिए ।

- अादर्श समाज सम्वाददाता