अंशु भइन् मिस नेवाः पोखरा

पोखरा, ६ चैत । नेवा खलः कास्कीको आयोजनामा पोखरामा भएको मिस नेवा पोखरा नेपाल सम्वत् ११३७ को उपाधि अंशु शाक्यले हात पारेकी छन् । उनले मिस ट्यालेन्टको उपाधि पनि आफ्नै पोल्टामा पारिन् ।

पोखरा तेसापट्टीकी २० वर्षीया शाक्यले प्रतिष्पर्धाको फाइनलमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिँदै १७ प्रतिस्पर्धीलाइ पछाडि पार्दै उपाधिसहित ४० हजार नगद, सिजि ब्राण्डको ३२ इञ्चको एलइडि टिभी पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै, नीकिता लिगल फस्ट रनरअप हुँदै २५ हजार र प्रार्थना डंगोेल वेस्ट पर्सनालिटीको बिषयगत उपाधिसहित सेकेण्ड रनरअप बनिन् । उनले १५ हजार पुरस्कार पाइन् । फाइलिष्टलाई डोकोमा बच्चा बोकेर हिँडिरहेकी महिलाको तस्विर देखाई त्यसको व्याख्या गर्न लगाइएको थियो ।

भ्युवर्स च्वाइस अवार्डसहित वेष्ट नेवारी ल्याङ्वेजको विषयगत उपाधि रसना बुद्धाचार्यले जितिन् भने ज्यास्मिन श्रेष्ठले वेस्ट स्माइल, श्रद्धा श्रेष्ठले मोस्ट फ्रेण्ड्ली र स्रि्रन श्रेष्ठले मिस फोटोजेनिकको उपाधि जिते । सवटाइल उपाधि विजेतालाई जनही पाँच हजार पुरस्कार दिइयो ।

कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठ, प्रमुख निर्णायक कृष्णमोहन श्रेष्ठ, मिस नेवा पोखरा ११३६ एलिशा जोशीलगायतले प्रतियोगिता नेवारी भाषा, संस्कृति जगेर्ना गर्दै युवतीको प्रतिभा प्रष्फुटनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यसमेत प्रस्तुत गरिएको आयोजक नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

- एजेन्सी