रुदी खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण तीव्र

लमजुङ, ६ चैत। रुदी खोलामा निर्माण कार्य थालिएको रुदीखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ।

सिङ्दीबेसी सीमा क्षेत्रमा बाँधस्थलको इन्टेकसहित निर्माण भइरहेको आयोजनाको ६० प्रतिशत कार्य पूरा भएको हो।

कास्की र लमजुङको सिमानामा बग्ने उक्त नदीमा निर्माणाधीन आयोजनाको क्षमता आठ दशमलव आठ मेगावाट रहेको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले बताए।

उनका अनुसार कास्कीको मिजुरेस्थित बालुवावेसीमा निर्माण भइरहेको पावरहाउसको कामलाई पनि उत्तिकै महत्वका साथ निर्माणमा अघि बढाइएको छ।

पावरहाउसमा ‘सिभिल स्टक्चर’ को काम ५० प्रतिशत सकिएको छ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाईहिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एण्ड इञ्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरेका छन्।

‘इलोक्ट्रोनिक मेकानिकल’ तर्फ टेलसेसको काम ७० प्रतिशत सकिएको भट्टराईले जानकारी दिँदै समग्रमा ६० प्रतिशत काम सकिएको बताए।

आयोजना सञ्चालनमा आवश्यक बाँधस्थलको निर्माण, हेडरेस पाइप जडान, पेनस्टक पाइप राख्ने, सर्ज ट्याङ्क निर्माण, पावरहाउस निर्माणजस्ता सबै काम तीव्र गतिमा अघि बढाइएको भट्टराईले जानकारी दिए।

उनले सिङ्दीबेसी सीमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कर्ल्भर्ट (नहर) निर्माणको काम भइरहेको बताए।

पाइप बिछ्याउने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक खन्ने काम ५० प्रतिशत सकिएको कामु प्रोजेक्ट म्यानेजर भट्टराईको भनाइ छ।

उनका अनुसार बाँधस्थलमा पानी जम्मा गर्ने पोखरी खन्ने, हेडरेस पाइप राख्ने ठाउँ खन्ने काम सकिएको छ।

लमजुङको पसगाउँको सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरेस्थित रवैडाँडाहुँदै बालुवाबेसीस्थित विद्युत्गृहबाट विद्युत् उत्पादन गरिने भएको छ।

उक्त पाइपलाइनमा छ किलोमिटरको पेनस्टक मेटल पाइपमार्फत् पानी लगेर आयोजनामा रुदी खोलाको साथमा छेदुवा खोलाको पानीसमेत मिसाउने योजनाअनुरुप काम भइरहेको छ।

प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइसकेको जानकारी दिँदै भट्टराईले बाँकी रकम ७० प्रतिशत सानिमा बैंकको नेतृत्वमा लगानी भइरहेको छ। आयोजनाको लागत एक अर्ब ३६ करोड २० लाख रुपैयाँ छ।

तीनसय मिटर ग्रेसहेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत् कास्कीको मुग्रेवेसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने छ।

- अादर्श समाज सम्वाददाता