किशोरीमै आमा बन्दा शिशुमा कुपोषण

लमजुङ, ६ चैत। वेसीसहरमा कुपोषित शिशु फेला परेको छ। १६ वर्षकी आमाले जन्म दिएको शिशु कुपोषित भएको पाइएको हो।

वेसीसहर नगरपालिका- ५ स्थित भकुण्डेकी अञ्जु बुढापृथीले जन्म दिएकी डेढ महिनाकी  शिशुमा त्यस्तो अवस्था देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

अभिभावकसँग आर्थिक अभावका कारण सुत्केरीको राम्रो खानपिन तथा हेरचाह हुन नसकेका कारण नवजात शिशुमा त्यस्तो स्थिति देखिएको कार्यालय प्रमुख दुर्गादत्त चापागाईले बताए।

उनका अनुसार बालिकाको अवस्था गम्भीर रहेको देखिएकाले जिल्ला अस्पतालका चिकित्सकको सल्लाहअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वय र सु-आहारा कार्यक्रमको सहयोगमा बालिकालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ।

गर्भवती हुँदा राम्रो खानपान नभएको र सुत्केरी भएपछि पनि पोषिलो खाना अभावले बालिकामा कुपोषण भएको जिल्ला अस्पतालले जनाएको छ।

पति गोविन्द पनि मात्र १७ वर्षका छन्। उनीहरुले गत वर्ष प्रेम विवाह गरेका हुन्।

अञ्जुको माइत गोरखा पालुङटारमा पर्दछ। विवाहको केही महिनामै उनी गर्भवती भएकी थिइन्।

कक्षा- ९ सम्म मात्र अध्ययन गरेकी उनलाई गर्भवती हुँदा र सुत्केरी अवस्था के खान पर्छ त्यो उनलाई थाहा नै थिएन।

खानेकुरा किन्नका लागि पनि आर्थिक समस्या भएको अन्जुले सुनाइन्। गर्भवतीको समय र सुत्केरी भएपछि खानु पर्ने पौष्टिक आहारको अभावका कारण नै अहिले उनको छोरीको त्यस्तो अवस्था आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

अञ्जुको छोरी जन्मदा पनि शल्यक्रिया गरिएको थियो। जन्मदा स्वास्थ्य राम्रै देखिए पनि घरमा लगेको २१ दिनपछि छोरीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको उनले बताइन्।

घरको आर्थिक अवस्था कमजोर भएकी बालिकाको उपचार सफल बनाउनका लागि पोखरा पठाइएको सुआहारा कार्यक्रमकी सुपरभाइजर मिना देउजाले जानकारी दिइन्।

- अादर्श समाज सम्वाददाता