हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला सकियो

पोखरा, ६ चैत । पोखरा प्रदर्शनी केन्द्रमा २० दिनसम्म चलेको हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला एक करोड २० लाखको कारोबार गर्दै शनिबार सकिएको छ ।

कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा फागुन १५ गतेदेखि मेला शुरु भएको थियो ।

आयोजकका अनुसार एक लाख ६५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा १५ देखि ७० प्रतिशतसम्म छुटमा जुत्ता बिक्री गरिएको थियो भने एक सय ५० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध गराइएको थियो ।

मेला समापनका प्रमुख अतिथि सांसद शारदा पौडेलले उद्यमशीलतालाई अगाडि बढाउन मेला राम्रो भएको बताउँदै समय समयमा यस्ता खालका मेला गर्नु आवश्यक रहेको बताइन् ।

पौडेलले नेपालमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउनु पर्नेमा जोड दिइन् । नेपालमा धेरै उद्यमी र उद्योग रहेको भन्दै तिनीहरुको विकासका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरण डंगोलले मेलामा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष तथा मेला संयोजक हीरा भट्टराईले छोटो समयमा पनि मेला सफल भएको भन्दै दुवै संस्थाको उद्देश्य एउटै भएकाले पनि मेला सम्पन्न गर्न सहज भएको बताइन् ।

ब्रोडकास्टिङ एशोसिएसन (वान) का केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सीप र जाँगरलाई उद्यमशीलतामा लगाउन सकेमा राष्ट्रको समृद्धि हुने बताए ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमनसिहं थापा, नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा नेपाली जुत्ता घर प्रालिका सञ्चालक होमनाथ उपाध्याय, रेडियो जननीका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीलगायतले बोलेका थिए ।

मेला मूल समारोह समितिका संयोजक हीरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एफम्यानका वरिष्ठ उपाध्यक्ष कृष्ण फुँयालले धन्यवाद ज्ञापन र स्टलवालाको तर्फबाट महिला उद्यमी पार्वती कार्की, इसान पस्मिनाका योगेश पौडेलले बोलेका थिए ।

उक्त अवसरमा मेला सफल पार्न सहयोग गर्ने संघसंस्थालाई मायाको चिनोसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

मेलामा नेपालका चर्चित ब्राण्ड शिखर सुज, बिएफडियरहिल सुज, स्काइ सुज, कोशेली छाला जुत्ता, सफ्ट टच फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टम टेलर सुजलगायत ब्राण्डका जुत्ता राखिएका थिए ।

- अादर्श समाज सम्वाददाता