कास्कीमा तीन सय ८१ निर्वाचित हुँदै

पोखरा, ५ चैत। मतदान केन्द्र सिफारिस समितिले कास्कीका पाँच स्थानीय तहको चुनावका लागि डेढ सय मतदानस्थल सिफारिस गरेको छ। यसअघि एक सय ४७ स्थलमा मतदान हुने गरेको कास्कीमा नयाँ संरचना बनेपछि तीन स्थल थप गरिएको हो।

रुपा गाउँपालिकास्थित वडा नम्बर ३ का लागि जनता मावि पोल्याङ, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० स्थित साविकको गाविस भवन घान्द्रुक र अन्नपूर्ण गाउँपालिकाकै ७ नम्बर वडास्थित लुम्लेको तान्चोक माझगाउँ आधारभूत विद्यालय नयाँ मतदान स्थलको रुपमा थप गरिएका हुन्।

यस्तै, अन्नपूर्ण गाउँपालिकाकै ६ नम्बर वडा लुम्लेको यसअघि मतदान हुन् ठाउँ संगम माविलाई हटाएर सिद्ध आधारभूत विद्यालय पसललाई कायम गरिएको छ।

नयाँ संरचनाअनुसार पोखरा लेखनाथ महानगरपालिकामा सबैभन्दा धेरै ९७ वटा मतदानस्थल छन्।

यस्तै, मादी गाउँपालिकामा १७, अन्नपूर्णमा १५, माछापुच्छ्रेमा १२ र रुपा गाउँपालिकामा ८ वटा मतदानस्थल तोकिएको छ। नयाँ मतदानस्थल कायम गरिएकाले मतदान केन्द्र पनि सोहीअनुसार थप हुने क्षेत्रीय निर्वाचन आयोग पोखराले जनाएको छ। आयोगका अनुसार तीन सय १५ को हाराहारीमा कास्कीमा मतदान केन्द्र हुनेछन्। यसअघि दुर्इ सय ९२ वटा मतदान केन्द्र थिए।

स्थानीय तह पुनःसंरचनासँगै साविकमा रहेका एक उपमहानगरपालिका, एक नगरपालिका र ३२ गाउँ विकास समितिमा रहेका तीन सय ३५ वटा वडाबाट घटाएर जिल्लाभर एक महानगरपालिका र चार वटा गाउँपालिकामा ७२ वटा वडा कायम गरिएको छ।

जसमध्ये पोखरा लेखनाथ महानगरपालिकामा मात्रै ३३ वडा छन् भने मादीमा १२, अन्नपूर्णमा ११, माछापुच्छ्रेमा नौ र रुपा गाउँपालिकामा सात वडा छन्। पोखराको सबैभन्दा बढी मतदानस्थल रहेको वडा १६ मा छ मतदानस्थल छन्।

स्थानीय तहको चुनावमा कास्कीबाट दुर्इ लाख २५ हजार चार सय ४२ जना सहभागी हुँदैछन्। त्यसमध्ये एक लाख ६८ हजार पाँच सय ८८ मतदाता पोखरा लेखनाथ महानगरपालिकामा छन्।

यस्तै, माछापुच्छ्रे गाउँपालिकामा १६ हजार तीन सय ४६, अन्नपूर्णमा १५ हजार छ सय छ, मादीमा १३ हजार पाँच सय १८ र रुपा गाउँपालिकामा ११ हजार तीन सय ८४ जना मतदाता रहेका निर्वाचन आयोग क्षेत्रीय कार्यालयका सूचना अधिकारी टेकबहादुर गुरुङले जानकारी दिए। यद्यपि कार्यालयले भर्खरै मतदानस्थल सिफारिस गरेकाले सोहीअनुसार मतदाता संख्या भने निकालिसकेको छैन।

स्थानीय निकायको संख्यामा आएको व्यापक फेरबदलसँगै प्रतिनिधि छनोटमा पनि उल्लेख्य परिवर्तन हुँदैछ।

यसपटकको स्थानीय चुनावले विश्वमै उदाहरणीयरुपमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दैछ। झण्डै २० वर्षपछि हुने नयाँ संरचनासहितको स्थानीय चुनावमा कास्कीबाट तीन सय ८१ जना जनप्रतिनिधि चुनिँदै छन्। यसमध्ये कम्तीमा एक सय ४४ जना महिला प्रतिनिधि हुनेछन्।

स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र सदस्य मिलेर गाउँपालिकामा गाउँसभा र नगरपालिकामा नगरसभा गठन हुन्छ। देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना जनप्रतिनिधि प्रवेश गर्नेछन्। गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा पाँच जनाका दरले जनप्रतिनिधि चुनिनेछन्। त्यसमा एक जना वडाअध्यक्ष र चार जना सदस्य हुनेछन्।

चार जना सदस्यमध्ये एक दलित महिला र अको एक थप महिला गरी दुर्इ महिला अनिवार्य हुनुपर्छ। त्यसपछि नगर सभाको रुपमा सबै वडाका निर्वाचित वडाअध्यक्षसहित चारैजना सदस्य प्रवेश गर्नेछन्। यसले हिसाब गर्दा पोखराको ३३ वडाबाट एक सय ६५ जना नगरसभामा स्वतः सदस्य हुनेछन्।

यसबाहेक नगर प्रमुख र उपप्रमुख नगरपालिका क्षेत्रभित्रबाट छुट्टै निर्वाचित हुनेछन् भने दलित वा अल्पसंख्यक समुदायबाट पनि तीन जना सदस्यका रुपमा चुनिनेछन्।

नगरसभाबाट छरितो संख्यामा नगर कार्यपालिकाको गठन हुन्छ। जसमा प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष र अरु सदस्य निर्वाचित हुन्छन्।

पोखरामा एक प्रमुख, एक उपप्रमुख, ३३ वडाध्यक्ष, पाँच जना महिला र तीनजना दलित तथा अल्पसंख्यक समुदायबाट नगरकार्यपालिकाको रुपमा निर्वाचित भएर ४३ जनाको नगरकार्यपालिका गठन हुन्छ। यसरी चुनिने सदस्य नगरसभाकै सदस्यबाट निर्वाचित हुनेछन्।

यस्तै, गाउँपालिकामा पनि सोही प्रक्रियाले गाउँसभा र गाउँकार्यपालिका गठन हुन्छ। सबैभन्दा ठूलो मादी गाउँपालिकामा ६४ जनाको गाउँसभा बन्छ। माछापुच्छ्रेमा ४९, अन्नपूर्णमा ५९ र रुपामा ३९ जनाको गाउँसभा हुन्छ।

गाउँकार्यपालिकामा भने नगरको भन्दा फरक ब्यवस्था छ। अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष समान भए पनि महिला चार जना र दलित तथा अल्पसंख्यक समुदायबाट दुर्इजना मात्रै निर्वाचित गर्न पाइनेछ। जसअनुसार मादीमा २० जनाको गाउँकार्यपालिका गठन हुन्छ। अन्नपूर्णमा १९, माछापुच्छ्रेमा १७ र रुपामा १५ जनाको गाउँकार्यपालिका गठन गर्न मिल्ने कानुनी प्रावधान छ।

गाउँ वा नगरसभालाई आफ्नो क्षेत्रभित्र लागू हुने गरी कानुन बनाउने, विकास निर्माणका योजना तय गर्नेलगायत महत्वपूर्ण काम गर्ने अधिकार हुन्छ। उक्त सभालाई संविधानले नै २२ प्रकारका अधिकार प्रयोग गर्ने ब्यवस्था मिलाएको छ।

गाउँ र नगरसभाबाट गठन हुने गाउँकार्यपालिका र नगरकार्यपालिका सम्बन्धित स्थानीय तहको सरकार हो। गाउँपालिका र नगरपालिकामा निर्वाचित भएका प्रतिनिधिबाट जिल्ला सभाको गठन हुन्छ भने यसले समन्वयको काम मात्रै गर्दछ।

यसैबीच, स्थानीय तहको चुनावमा उम्मेद्वार बन्न २१ वर्ष पूरा भएको हुनुपर्ने संविधानमै स्पष्ट ब्यवस्था छ। तर, उम्मेद्वारी दिन चाहने व्यक्तिको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका वा वडाको मतदाता नामावली सूचीमा अनिवार्य हुनुपर्छ। मतदाता नामावलीमा नाम नभएको वा अन्त्रय भएको व्यक्तिले उम्मेद्वारी दिन पाउने छैनन्।

कास्कीमा हालसम्म २३ दल दर्ता छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय शिवसेना, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी नयाँ शक्ति पार्टीनेपाल, नेकपा माले, राष्ट्रिय यथार्थवादी पार्टी राष्ट्रिय जनमुक्ति पार्टी देशभक्त समाज, अखण्ड नेपाल पार्टीर नेकपा -माले जनसमाजवादी) पार्टीकास्कीमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

- प्रकाश ढकाल