सुनचाँदी रत्न व्यवसायीको राष्ट्रिय सम्मेलन शुरु

पोखरा, ५ चैत। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा शुरु भएको छ । पोखरामा पहिलो पटक आयोजित सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नुका साथै पोखरा घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनको स्थानीय संयोजन गरेको जिल्ला शाखा कास्की अध्यक्ष किसन सुनारका अनुसार शनिबार अबेरसम्म नयाँ नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको र आइतबार घोषणा गरिनेछ । सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति सभापति भीष्मराज आङ्दाम्बेले सुनचाँदी व्यवसायीका समस्या र सवालहरु नयाँ नरहेको भन्दै राज्यले किन ध्यान नदिएको र व्यवसायीले किन चको दबाब दिन नसकेको – भनी प्रश्न गरे ।

‘मुलुकको १५ प्रतिशत अर्थात् छ अर्ब बढी राजस्वमा यो क्षेत्रको योगदान छ । यो कुनै जोक होइन । राज्यले यस पक्षलाई व्यवस्थापन गर्नु उसको दायित्व हो’- उनले भने- ‘दुर्इ महासंघ एकजुट हुनुहोस्, व्यवस्थित र पेशागत मर्यादामा रहेर व्यवसाय गर्नुहोस् ।’

सभापति आङ्दाम्बेले विश्वबजारमा नेपाली आभूषणको बजार राम्रो रहनेतर्फ जोड दिँदै यसका लागि हाम्रा जाति तथा संस्कृतिअनुसारका मौलिक शैलीका आभूषण बन्नुपर्ने बताए ।

सुनका सवालमा छिमेकी ठूलाठूला देशले प्रयोगभूमिका रुपमा हाम्रो मुलुकलाई लिनेतर्फ सबै जानकार रहेको उनको भनाइ थियो। उनले स्पेसल इकोनोमिक जोन -सेज) को अवधारणामा अघि बढेको र यसबाट निर्यात प्रोत्साहन तथा आयात निरुत्साहित हुने उल्लेख गरे।  सांसद शारदा पौडेलले व्यवसायीले व्यवसायमात्रै नभै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।

राष्ट्रिय अनुसन्धान क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिआइजी रवीन्द्र पण्डितले पेसाको इमान्दारिता र व्यवसायिकतातर्फ ध्यान दिन आग्रह गरे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले मुलुकभरका २२ हजार सुनचाँदी व्यवसायीको मागप्रति राज्य गम्भीर नबनेको आरोप लगाए। उनले राज्यले नीतिनियम, निर्देशिकाबिना अनुगमन गरेर व्यवसायीलाई आतंकित पारेको आरोप लगाउँदै व्यवसायीमाथि झुटा मुद्दा र ठगीको आरोपमा दुःख दिएको उल्लेख गरे ।

दैनिक १५ किलोबाट बढाएर २५ किलो पुर्‍याए पनि ३० किलोको कोटा बढाउन आवश्यक रहेको भन्दै उनले सिजनमा कम्तीमा ५० किलो सुन उपलब्ध गराउनुपर्ने माग गरे ।

महासंघका अध्यक्ष रमेश महर्जनले सहभागीलाई स्वागत गर्दै गरगहना क्षेत्रलाई बृहत् उद्योगको रुपमा स्थापित गराई स्वदेशी कच्चा पदार्थको अन्वेषण उत्खनन, रोजगारी प्रवर्द्धन, निर्यात एवं राजश्व अभिवबृद्धि कार्यमा निजी क्षेत्रबाट संस्थागत योगदान गर्न महासंघ सक्रिय रहेको बताए । उनले नेपालमा ६६ प्रकारका खनिज रहेको बताउँदै ज्वेलरी प्रमोसन जोनका रुपमा मुलुकलाई स्थापित गराउने अभियानमा लागेको बताए।

कार्यक्रममा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरण डंगोल, पत्रकार महासंघ कास्की उपाध्यक्ष एवं रेडियो जननीकी स्टेशन म्यानेजर बिमला भण्डारीलगायत बोलेका थिए।

- अादर्श समाज सम्वाददाता