भलिबल प्रतियोगिताको उपाधि पुनहिललाई

पोखरा, ५ चैत। अभियान युवा क्लबद्वारा आयोजित प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता-२०७३ को उपाधि पुनहिल क्लब घोरेपानीले जितेको छ ।

पोखराको मालेापटन खेल मैदानमा शनिबार भएको फाइनलमा पोखरा क्लबलाई २५-१९, २५-२१ र २५-१४ को सोझो सेटमा पराजित गर्दै उसले उपाधि हात पारेको हो ।

विजयी पुनहिल क्लबले नगद ५० हजार पाँच सय ५५ जित्यो भने द्वितीय पोखरा क्लबले ३० हजार पाँच सय ५५ पुरस्कार पायो ।

त्यस्तै, अनुशासित टीमको उपाधि सशस्त्र प्रहरी बल कालिका गणले पायो भने वेस्ट डिफरेन्स पोखरा क्लबका युवराज भण्डारी घोषित भए ।

वेस्ट स्पाइकरमा पोखरा क्लबका प्रितम मल्ल, वेस्ट ब्लकरमा पुनहिल क्लबका विष्णु क्षेत्री, वेस्ट सर्भरमा पुनहिलकै अर्जुन मल्ल, वेस्ट लिफ्टरमा पुनहिलका प्रदीन गुरुङ र वेस्ट प्लेयरमा पुनहिनका महेश खड्का घोषित भए ।

प्रतियोगिता समापनमा प्रमुख अतिथि पोखरा ट्रेड मलका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले युवाको खेलकुदप्रतिको आकर्षणले आफू निकै खुसी भएको बताए।

मेट्रो सिटी हस्पिटल प्रालि सञ्चालक समितिका अध्यक्ष डा भरत खत्रीले मानिसलाई स्वस्थ्य रहनका लागि खेलकुद अपरिहार्य रहने बताए।

कार्यक्रममा टोल विकास नगर तथा वडा समन्वय समितिका अध्यक्ष उज्वल खत्री, स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्षद यज्ञप्रसाद बास्तोला, नागरिक निगरानी समूहकी संयोजक अञ्जु केसी, सूर्यचन्द्र विकास समाजका अध्यक्ष अंकीत बराललगायतले मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा अभियान महिला उपसमितिकी सिर्जना बरालले स्वागत र कार्यक्रम संयोजक जयप्रकाश थापा ‘पप्पु ले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन क्लब सचिव राजु गिरीले गरेका थिए।

- एजेन्सी