पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ कपिललाई

पोखरा, ५ चैत। पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्थापना गरेको पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ बाट पहिलो पटक डा कपिल अधिकारी सम्मानित भएका छन्।

विभिन्न सामाजिक, आर्थिक, व्यवसायिकलगायत क्षेत्रमा विशेष योेगदान दिने व्यक्तिलाई पश्चिमाञ्चलले हरेक २ वर्षमा उक्त अवार्ड दिने घोषणासमेत गरेको छ ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीसहित अतिथिले शनिबार अवार्डसहित नगद २५ हजार रुपैयाँ अधिकारीलाई हस्तान्तरण गरे । पोखरा गणेशटोेलका अधिकारी उक्त स्कुलका भूपू विद्यार्थी तथा शिक्षक पनि हुन्।

२०३७ साल कात्तिक २७ गते जन्मेका अधिकारीले सन् २०१२ मा अमेरिकाको युनिभर्सिटि अफ टेक्सासबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले ३ वर्ष अमेरिकाका विभिन्न विश्वविद्यालयमा उत्तर विद्यावारिधि पनि गरेका छन्।

नानो टेक्नोलोजी र साइन्सबाट भौतिक विज्ञान क्षेत्रको विकासमा लागेका उनले २ महिनादेखि भौतिक अनुसन्धानका लागि पहल पोखरा नामक संस्था स्थापना गरेका छन्। उनले सन् २०१५/२०१६ सम्म कतार फाउण्डेसनमा वैज्ञानिकका रुपमा कामसमेत गरेका छन्।

‘हामीले सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेका हौं । यसले मान्छेलाई सामाजिक क्षेत्रमा लाग्न थप प्रोत्साहन दिनेछ’- अवार्ड वितरण तथा कक्षा १२ का विद्यार्थीका लागि आयोजना गरिएको बिदाइ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष पराजुलीले भने-’सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई अवार्ड दिँदा त्यसबाट अरुले पनि प्रोत्साहन पाउनेछन्।’

पश्चिमाञ्चल गौरव पुरस्कारले पश्चिमाञ्चल माविको प्रतिष्ठा बढाउन पनि सघाउने उनले बताए ।

अवार्ड पाएपछि अधिकारीले आफूलाई सामाजिक क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको बताए । ‘हुन त मैले धेरै केही गरेको छैन तर अब मलाई काम गर्न थप दबाब पर्नेछ’-उनले भने-’अवार्डले मलाई हौसला मिलेको छ। सामाजिक काममा सक्रिय हुन मलाई यसले सघाउनेछ ।’

सोही अवसरमा कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरिकृष्ण सुवेदीलाई पनि नगद १५ हजार रुपैयाँ राशीको पुरस्कार दिइएको थियो।

त्यस अवसरमा पश्चिमाञ्चल माविले शुरु गरेको अवार्ड वितरण अरु शैक्षिक संस्थाका लागि पनि सिकाई हुने वक्ताको भनाइ थियो ।

सोही अवसरमा कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाइसमेत गरेका थिए । बिदाइमा ११ कक्षाका विद्यार्थीले विभिन्न नृत्य पस्केका थिए । बिदाइ भई जानेलाई विभिन्न उपहार पनि प्रदान गरिएको थियो ।

त्यस अवसरमा विद्यालयले उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

पुरस्कार वितरण गर्दै प्राचार्य ताराबहादुर घिमिरेले आगामी दिनमा पनि उच्च मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई शुभकामना दिए।

- अादर्श समाज सम्वाददाता