भाँडा व्यवसायीद्वारा क्यान्सर सचेतना

पोखरा, ५ चैत। पोखरा भाँडा व्यवसायी संघ, कास्कीले शनिबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरेको छ।

नेपाल अर्वुद रोग निवारण संस्था कास्कीको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ७० जना सहभागी थिए।

कार्यक्रममा क्यान्सर के हो, कसरी लाग्छ र त्यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो।

कार्यक्रम उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले हरेक व्यक्तिले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले व्यावसायिक हितका लागि सामूहिक ढंगबाट सोच्न र अघि बढ्न आग्रह गरे।

क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डा कालु शर्माले रोगबाट बँच्न खानपीनमा विशेष ध्यान दिनुपर्ने र स्वस्थ्य जीवन निर्वाह गर्नका लागि आफैले सर्तर्कता अपनाउनुपर्ने औल्याए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटी, उपसभापति प्रेम भुजेल, नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसी, कार्यक्रम संयोजक नरेन्द्र आचार्यले बोलेका थिए।

पोखरा भाँडा व्यवसायी संघ कास्कीका अध्यक्ष देवबहादुर ‘डिबि’ भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कविन्द्रमान पालिखेले गरेका थिए।

- अादर्श समाज सम्वाददाता