कुन तहमा कसको दाबी ?

पोखरा, ३ चैत। सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छ ।

खुलेर उम्मेद्वार आफ्ना प्रचारमा नलागे पनि माउ पार्टीँगको आन्तरिक छलफलमा ब्यस्त छन्। केही उम्मेद्वारले पत्रपत्रिकामार्फत आफ्नो उम्मेद्वारीको घोषणासमेत गरेका छन् । यद्यपि आकांक्षीको ठूलो भीडबाट एक एक जना उम्मेद्वार चयन गर्न त्यति सजिलो देखिँदैन। कास्कीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ शक्ति पार्टी संघीय समाजबादी फोरमलगायत दलबाट नगरपालिका र गाउँपालिका प्रमुखका लागि उम्मेद्वारी दिँदैछन् ।

केही ठूला पार्टीले पार्टीतरुपमै उम्मेद्वारी दिए पनि साना पार्टीठूला पार्टीँग मिलेर चुनावमा सहभागी हुने तयारी गरिरहेका छन् ।

चुनावी सरगर्मीसँगै जिल्लास्थित राजनीतिक दलले पनि चुनावी गतिविधि विस्तारै शुरु गर्दैछन् । सबैजसो पार्टीले चैत ५ गतेपछि चुनाव केन्द्रित कार्यक्रम गर्ने तयारी गरिरहेका छन्। काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १० गतेपछि मात्रै उम्मेद्वार छनोट प्रक्रिया शुरु हुने बताए ।

नयाँ संरचनाभित्र संगठनलाई व्यवस्थित गर्ने काम भइरहेको भन्दै उनले केन्द्रिय समितिको निर्देशन आउनेबित्तिकै उम्मेद्वार घोषणाको काम थाल्ने जानकारी दिए ।

‘केन्द्रिय समितिको बैठक १० गते बस्दैछ । समितिको निर्देशन आउनेबित्तिकै हाम्रा कार्यकर्तालाई अभियानमुखी कार्यक्रम लिएर सबै तहमा खटाउँछौं’-उनले भने-’अहिले पनि ठाउँठाउँमा कार्यक्रम भइरहेका छन् । जनताका सामाजिक र प्रशासनिक कामलाई ध्यानमा राखेर बढीभन्दा बढी परिचालित गर्ने हाम्रो आन्तरिक तयारी छ।’

चुनावकै लागि जिल्ला समितिको बैठक ५ गते बस्दैछ । उनले संविधानको बाध्यकारी ब्यवस्थाभित्र रहेर उम्मेद्वार छनोट गर्ने र काँग्रेसको उम्मेद्वार सबैको साझा हुने दाबी गरे । ‘१९ वर्षपछि हुने चुनावमा सबैभन्दा ठूलो पार्टीका आकांक्षी धेरै हुनु स्वभाविक हो । यसले काँग्रेसका धेरै कार्यकर्ताको क्रियाशीलता देखाउँछ’-केसीले भने-’यसमध्ये पनि भूगोलको सन्तुलन र समावेशिताभित्रको समानुपातिक उम्मेद्वारलाई बढी प्राथमिकता दिनेछौं।’

नेकपा एमालेले पनि ५ गते नै जिल्ला कमिटिको विस्तारित बैठक डाँकेको छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले हाल संगठन विस्तारको काम तीव्ररुपमा भइरहेको भन्दै भेलामार्फत स्थानीय तहको संरचनाअनुसार पार्टीको संगठन तयार गर्ने जानकारी दिए ।

‘पार्टीअहिले संगठन निर्माणको काममा जुटिरहेको छ’-उनले भने-’५ गतेको भेलाले गाउँ कमिटि र उपमहानगरपालिका तथा नगरपालिकाको कमिटी भंग गरेर नयाँ कमिटि गठन गर्छौ।’

उनले पार्टीको आन्तरिक भोटिङबाट उत्कृष्ट भएको उम्मेद्वार तहमा उठ्ने जानकारी दिए । ‘सकेसम्म सर्वसम्मत उम्मेद्वार चयन गर्ने हो, नभए आन्तरिक कमिटीमा भोटिङ गरेर घोषणा हुन्छ’-उनले भने-’धेरै आकांक्षीबाट एक/एक जना छान्नुपर्छ । त्यसका लागि गृहकार्य भैरहेको छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष दीपक कोइरालाले जोडिएको वडामा पार्टीकमिटी गठन भइरहेको जानकारी दिए । उम्मेद्वार छनोट गर्न आन्तरिक छलफल भैरहेको भन्दै छिट्टै घोषणा गरिने बताए ।

‘महानगरपालिकाको उम्मेद्वार केन्द्रले घोषणा गर्छ । गाउँपालिकाका लागि स्थानीय तहबाटै सिफारिस हुन्छ’-उनले भने-’सिफारिस आएपछि जिल्लाले टुंग्याउँछ । त्यसैका लागि संगठन निर्माणको काम भइरहेको छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ५ मा देशैभर चुनाव चिन्ह घोषणा गर्दैछ । सोहीअनुसार कास्कीमा पनि कार्यक्रम गरिने जिल्ला अध्यक्ष जयलाल पुनले जानकारी दिए । उनका अनुसार सबै नयाँ संरचनामा पार्टीसंगठन बनाउने र उम्मेद्वार टुंग्याउने काम ५ गतेपछि मात्रै हुनेछ ।

नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष होमबहादुर थापाले सबै तहमा अरुसँग प्रतिष्पर्धा गर्ने गरी तयारी भइरहेको बताए ।

उनका अनुसार नयाँ शक्ति पार्टीको जिल्ला भेला पनि ५ गते नै राखिएको छ । ‘सबैभन्दा पहिले स्थानीय तहअनुसारको पार्टीसंरचना तयार गर्छौ । त्यसपछि मात्रै चुनाव केन्द्रित कार्यक्रम शुरु हुन्छ’- उनले भने-’आन्तरिक प्रतिष्पर्धाबाट उत्कृष्ट भएका उम्मेद्वार हाम्रो तर्फबाट उम्मेद्वार हुनेछ।’

संघीय समाजवादी फोरमका अध्यक्ष दीपक तामाङले मोर्चाको माग सम्बोधन नभएसम्म चुनावी गतिविधि सञ्चालन नहुने बताए । ‘हामी सरकारको निर्ण कुरिरहेका छौं । त्यतिबेलासम्म पर्ख र हेरको स्थिति हुन्छ’-उनले भने-’माग सम्बोधन हुनेबित्तिकै हाम्रा उम्मेद्वार घोषणा गर्छौ।’ पार्टीको जिल्ला तहमा उम्मेद्वारको घोषणा भए पनि निर्देशनपछि मात्रै घोषणा गर्ने तामाङको भनाइ छ ।

डेढ दशकपछि हुन लागेको चुनावमा पनि नागरिकको चासो खासै देखिँदैन । मेयरका आकांक्षीसमेत चुनावको प्रचार प्रसारमा लागेका छैनन् । जाने बुझेकाहरु दलगत प्रतिष्पर्धा नगरी स्वतन्त्ररुपमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँछन् ।

‘कुनै पनि प्रजातान्त्रिक मुलुकमा दलीय निर्वाचन भएको छैन । नेपालमा पनि दलगतभन्दा स्वतन्त्ररुपमा निर्वाचनमा भाग लिने उम्मेद्वार बलियो हुन सक्छ’-उनीहरु भन्छन्-’स्थानीय इस्युमा चुनाव लड्ने मान्छे प्रमुख बन्ने हो । जनता अब सचेत भइसकेका छन्।’ कास्कीमा स्वतन्त्र उम्मेद्वार पनि प्रतिस्पर्धी हुने चर्चा चलिरहेको छ । विश्व सिग्देल, कर्मा गुरुङलगायतको नाम पनि पोखराको मेयरका लागि सुनिएका नाम हुन् ।

पोखरा लेखनाथ महानगरपालिका

राजनीतिक विश्लेषण गर्नेहरु दुर्इ वा तीन जनामात्रै दलबाट मेयरको उम्मेद्वारी बन्ने अड्कलबाजी गर्छन् । उनीहरुका अनुसार पोखरामा काँग्रेस, एमाले र माओवादीसँग अन्य दलहरु मिलेर चुनावमा सहभागी हुनेछन् ।

त्यसबाहेक स्वतन्त्र उम्मेद्वार पनि मेयरको प्रतिष्पर्धी हुन सक्ने अड्कल गरिएको छ । हालसम्म गनिएका ठूला दलनिकटबाट ३० बढी आकांक्षी छन् । मेयरका लागि नन्दप्रसाद तिवारीले पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गरिसकेका छन् भने अरु दल निकटका उम्मेद्वार पनि मिडियामार्फत विस्तारै सार्वजनिक भैरहेका छन् ।

मेयरमा काँग्रेसको तर्फबाट जिल्ला सभापति कृष्ण केसीसहित, सांसद यज्ञबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष नरेशशंकर पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, हेमजा गाविसका पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठी मुख्य आकांक्षी हुन् । सांसद थापाले सांसदबाट राजीनामा दिएरै भए पनि मेयरमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापा पनि मेयरका आकांक्षी हुन् । उपमहानगर हुँदै मेयर निर्वाचित भएर काम गरिसकेका थापा पार्टीअध्यक्ष हुँदै पुनः महानगरको मेयर बन्ने दाउमा छन् । उनीसँगै एमालेबाट जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ पनि दाउ खोजिरहेका छन् । एमाले वैकल्पिक केन्द्रिय सदस्य मानबहादुर जिसी, सांसद रवीन्द्र अधिकारी, युवा संघका अध्यक्ष राजीव पहारी, पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति धनराज आचार्य, जिविसका पूर्व उपसभापति श्रीनाथ बराल, नगर कमिटी अध्यक्ष तेजनारायण अधिकारी, भरत पहारीलगायत नेताको चर्चा पनि उत्तिकै छ ।

माओवादी केन्द्रको तर्फबाट कास्की अध्यक्ष दीपक कोइराला मेयरको चुनावमा उम्मेद्वारी दिने तयारीमा छन् । उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने पनि मेयरका मुख्य आकांक्षी हुन् । माओवादीभित्र कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराललगायतको पनि चर्चा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकाट जिल्ला अध्यक्ष जयलाल पुन, नगर कमिटी अध्यक्ष रमेश खत्री, नेता कृष्ण रेग्मी मेयरका लागि दाबी गरेका छन् भने नयाँ शक्तिको तर्फबाट जिल्ला अध्यक्ष किरण थापा, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङलगायतको चर्चा सुनिएको छ ।

माछापुच्छ्रे गाउँपालिका

कास्कीका गाउँपालिकामा पनि अध्यक्ष को हुने भन्ने विषय चर्किँदै गएको छ । माछापुच्छ्रे गाउँपालिकामा विशेषगरी काँग्रेस र एमालेको प्रस्तिपर्धा हुनेछ । यहाँ अध्यक्षका लागि नेपाली काँग्रेसबाट लाहाचोकका खुसीमान गुरुङ र माछापुच्छ्रेका भीम गुरुङ मुख्य दावेदार हुन् । एमालेबाट भने १० जनाको चर्चा छ । धम्पुसका पूर्व अध्यक्ष दलबहादुर गुरुङ र यदु अधिकारी, रिभानका गोपाल गिरी, घाचोकका महेश्वर पोख्रेल, माछापुच्छ्रेका कर्णगुरुङ, ल्वाङघलेलका लालबहादुर परियार र जगन्नाथ बास्तोला, लाहाचोकका विष्णुप्रसाद पौडेल, धितालका बुद्धि अधिकारी र शशिधर अधिकारी अध्यक्षको लागि लविङ गरिरहेका छन् । यस्तै, नयाँशक्ति पार्टीकाट घाचोकका तोयनाथ लम्साल पनि गाउँपालिकाको प्रमुख बन्ने दाउमा छन्। माओवादीबाट भने खासै चर्चामा कसैको नाम सुनिएको छैन ।

मादी गाउँपालिका

जिल्लाको उत्तर पूर्वी गाउँपालिका मादीमा काँग्रेस, एमाले र माओवादीका नेता अध्यक्षका लागि आन्तरिक छलफलमा छन् । काँग्रेसबाट क्षेत्रीय सभापति वृजमान गुरुङ, जिल्ला सदस्य मिजुरेडाँडाका ओमप्रकाश गुरुङ, थुमाकोडाँडाका देवीजंग गुरुङ, अर्जुन गुरुङ र मनबहादुर गुरुङ, सैमराङका सूर्य तामाङ र प्रेम तामाङ हंसपुरका दीपेन्द्र ढकाल, कालिकाका भानु ढकाल र सरोज केसी, पार्चेका रसकुमारी गुरुङ र लेखबहादुर गुरुङ र भाचोकका सागर गुरुङ अध्यक्षका आकांक्षी हुन् । एमालेबाट एमाले उपाध्यक्ष मनबहादुर गुरुङको चर्चा छ । यद्यपि उनी पोखरा लेखनाथ महानगरपालिकाकै मेयर वा उपमेयरका लागि दाउ खोजिरहेका छन् । यसबाहेक नामार्जुङका बेदबहादुर गुरुङ (श्याम), माझठानाका पदमप्रसाद पौडेल, भाचोकका जसबहादुर गुरुङ, थुमाकोडाँडाका बुद्धिसागर सापकोटा र सिल्दुजुरेका बालकृष्ण गुरुङको चर्चा छ । नेकपा माओवादी केन्द्रबाट पनि राज्य समिति सदस्य सिल्दुजुरेका लालबहादुर गुरुङ, केन्द्रिय सदस्य मित्र गुरुङ र तोरण गुरुङ तथा कृष्णराज दाहालले अध्यक्षका लागि आकांक्षा ब्यक्त गरेका छन् ।

रुपा गाउँपालिका

पूर्वी गाउँपालिका रुपामा जिल्लास्तरीय नेतासमेत अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । यहाँ तीनवटै ठूला पार्टीकाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षी धेरै छन् । काँग्रेसबाट पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल स्वयं अध्यक्ष बन्ने चाँजोपाँजो मिलाइरहेका छन् भने जिल्ला सदस्य हंसपुरका नारायणकुमार श्रेष्ठ, रुपाकोटकी गिमाया गुरुङ र साविक गाविस अध्यक्ष तुलबहादुर गुरुङ अध्यक्षका दावेदार हुन् । एमालेबाट सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदीको बढी चर्चा छ । जिल्ला सदस्य नवराज ओझा, जिल्ला सल्लाहकार सदस्य हस्तकुमार श्रेष्ठको पनि निकै चर्चा सुनिन्छ । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सरिता माल र साविक रुपाकोटका पार्टीसचिव खसबहादुर गुरुङ अध्यक्षमा दावेदारी पेस गर्ने तयारी गरिरहेका छन् । माओवादी केन्द्रकी केन्द्रिय सदस्य निर्मला सुवेदी र रुपाकोट गाविसका अध्यक्ष सूर्य गुरुङ पनि रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार दिँदैछन् ।

अन्नपूर्ण गाउँपालिका

कास्कीको उत्तर पश्चिम गाउँपालिका हो, अन्नपूर्ण । यहाँ पनि विशेषगरी तीनवटै पार्टीका उम्मेद्वार उठ्ने संकेत देखिन्छ । काँग्रेसबाट क्षेत्रीय सभापति पोषनाथ शर्मा, महासमिति सदस्य आइबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङ, जिल्ला सदस्य युवराज कुँवर, दाङसिङका पूर्व अध्यक्ष देवेन्द्रकुमार शेरचन, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ, लुम्लेका प्रेमबहादुर गुरुङलगायतको चर्चा छ ।

यस्तै, एमालेका क्षेत्रीय अध्यक्ष विष्णु केसी, लुम्ले गाविसका अध्यक्ष भरत देवकोटा, ढिकुरपोखरी गाविसका पूर्व अध्यक्ष केदारनाथ अधिकारी, घान्द्रुकका बुद्धिबहादुर गुरुङ र सल्यानका प्रेम पौडेलको नाम सुनिएको छ । यस्तै, माओवादी केन्द्रको तर्फबाट घान्द्रुकका धर्म तमु र क्षेत्रबहादुर गुरुङ तथा ढिकुरपोखरीका माओवादी अध्यक्ष भेषराज पौडेलको नाम चर्चामा छ ।

- प्रकाश ढकाल