समर्थन फिर्तासँगै मोर्चा आन्दोलित

काठमाडौ ३ चैत ।सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने औपचारिक घोषणासँगै मधेसी मोर्चाले संघीय गठबन्धनमा आवद्ध दलहरुसँग मिलेर पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

संविधान संशोधन र स्थानीय निर्वाचनको विरोध गर्दै मोर्चाले चैत २१ गतेसम्म नरम किसिमको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघीय समाजवादी फोरमको कार्यलय तीनकुनेमा बिहीबार बसेको बैठकले मधेस, पहाड र हिमालमा एकैपटक आन्दोलन गर्ने घोषणा गरेको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै संघीय गठबन्धनको बैठकले आदिवासी जनजातिसँग मिलेर हिमाल, पहाड र मधेसमा संयुक्त रुपमा आन्दोलन गर्ने जनाएको छ ।

मोर्चाको यसअघिको बैठकले सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिएको घोषणा गरेको थियो ।

मोर्चाले समर्थन फिर्ताबारे सभामुखलाई पत्र लेखेर जानकारी गराएको छ ।

आन्दोलनका कार्यक्रम चैत ३ देखि २१ गतेसम्म हुने उल्लेख छ । चैत ३ मा संसद्मा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्तासँगै चैत ४ देखि जनअवज्ञा तथा असहयोग आन्दोलन हुने गठबन्धनद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

चैत १२ मा स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन – भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना हुनेछ । चैत १३ मा सबै जिल्ला सदरमुकाममा श्रद्धाञ्जली सभा गर्ने र काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम तय भएको छ । ।

चैत १४ मा जिल्ला सदरमुकाममा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रबिनाको स्थानीय तहको प्रतिवेदन जलाउने र चैत १५ देखि २१ गतेसम्म थरूहट, खसान, तमुवान, किरात, लिम्बुवान, तामाङसालिङ र नेवा राज्यस्तरमा विरोध सभा हुने गठबन्धनले जनाएको छ ।

- अादर्श समाज सम्वाददाता