माग पूरा नभए निर्वाचनमा असहयोग : महतो

चितवन/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाका माग सम्बोधन नभए निर्वाचनमा असहयोग गरिने बताएका छन् ।  भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताए ।

महतोले सरकार र मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए । आफ्ना माग पूरा नगरी सरकारले जवर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले सरकारले गरेको त्रुटी सच्याउनु पर्ने बताए ।

उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउँदै आन्दोलनमा बन्द हड्तालको विकल्पको खोजी भइरहेको बताए । उनले जनताको बीचमा रहेर आन्दोलनलाई अघि बढाउने जानकारी दिए ।  एमालेको मेची महाकाली राष्ट्रिय अभियानतप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए । उनले जनताले कुनै पनि दललाई निषेध गर्न सक्ने पनि बताए ।

- अादर्श समाज सम्वाददाता