पोखरा फाइनान्स २१ औं वर्षमा

पोखरा, ३ चैत ।  पोखरामा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१ औं वर्षमा प्रवेश गरेको छ ।

फाइनान्सले वाषिर्कोत्सव अवसरमा बिहीबार ‘वित्तीय साक्षरता तथा सफा नोट अभियान’ सम्बन्धी प्रभातफेरी गरेको छ ।

यस्तै, फाइनान्सले दीर्घसेवा पदक वितरण पनि गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जानकारी दिए ।

रचनात्मक कार्यक्रम गरेर वाषिर्कोत्सव मनाउनेक्रममा सर्वसाधारणमा वित्तीय साक्षरता एवं नोटको जतन सम्बन्धमा आवश्यक जानकारी प्रवाह गरिएको फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले बताए । संस्थामा १० देखि १५ वर्ष अटुट सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक वितरण गरिएको हो ।

संस्थाले बिहीबार प्रधानकार्यालयमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष भुवनसिं गुरुङले डा तेजबहादुर गुरुङलाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यसहित फाइनान्सले प्लाष्टिक झोला मुक्त अभियानमा योगदान पुर्‍याउने उद्देश्यले ‘एक खाता, एक झोला’ अभियान शुरु गरेको छ । नयाँ खाता खोल्ने ग्राहकलाई झोला वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

अधिकृत पुँजी ९६ करोड रुपैयाँ र चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको फाइनान्सले चुक्ता पुँजी वृद्धिको लागि निकट भविष्यमा साधारण सेयरको नयाँ निष्कासन (एफपिओ) गर्ने भएको छ ।

सेवा विस्तारक्रममा लेखनाथको आदर्शचोक, पोखरा बिरौटा, स्याङ्जाको वालिङ रामबाच्छामा शाखा सञ्चालन तयारी भइरहेको गुरुङले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता