मौरीमै मनग्ये आम्दानी

लाहुरे नहुँदाको पछुतो छैन टेकमानलाई

लेखनाथ, १ चैत । मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा। एकता हेर कस्तो छ मौरीको महमा सदा।।

कवि शिरोमणि लेखनाथ पौडेलको नैतिक दृष्टान्तमा उल्लेखित माथिको हरफ आत्मसाथ गर्दै लेखनाथ-३, अघौर्का मौरीपालक कृषक टेकमान गुरुङ अहिले ‘मौरीबाजे’ उपनामले चिनिन्छन्।  टेकमानका दुर्इ दाजु बाबुको सिको गर्दै भारतीय सेनामा भर्ती हुँदा उनी भने घरकै कामधन्दा र आमाको रेखदेखले भर्ती हुन पाएनन्। तर लाहुने हुन नपाएकोमा उनलाई कत्ति पछुतो छैन। मौरीबाट स्वदेशी माटोमै परिवारको साथमा बसेर दाजुकै सरह सम्पत्ति जोड्न सफल भएका छन्, टेकमान।

६० वर्षअघि कास्कीको धम्पुसमा जन्मिएका टेकमानले आफ्नो गाउँघरमा भएका मुडे मौरीको घारबाट जब मह काट्न सिके, उनी त्यसपछि मौरीप्रति आकषिर्त हुन थाले। गाउँघरका अन्य छिमेकीले समेत उनलाई मह काट्न बोलाउन थालेपछि उनले अझ बढी सिक्ने अवसर पाए र मौरीपालनमा हुमिए।

२०३२ सालतिर बाबु र दाजुको कमाइले लेखनाथको अघौर्चोकमा जग्गा खरिद गरि बसाइँ सर्दा आफूले भर्खरै पाल्न थालेका मौरी लिएर लेखनाथ झरे।

केही वर्ष त मुडे घारमा मौरी पाल्दा राम्रो उत्पादन भयो। समयको माग र आवश्यकता बुझेर आधुनिक घारमा मौरी सारेर पाल्न के थालेका थिए, उनमा मौरीपालनलाई व्यावसायिक बनाउने आकर्षण बढ्यो।

आधुनिक घारमा मौरी पाल्न थालेपछि मह उत्पादनसमेत बढेको अनुभव सुनाउँदै टेकमानले भने-’सात घारबाट शुरु गरेर अहिले तीन सय बढी मौरी घार भएपछि मनमा खुसी र आनन्दको अनुभूति भएको छ।’

ब्यावसायिक मौरीपालक कृषक हुन सफल भएका गुरुङले जीवनमा धेरै कृषकलाई मौरीपालनतर्फ प्रेरणा दिँदै अगाडि बढाइसकेका छन्। मौरीपालनबाट गुरुङले मह, मौरीसहितको घार र आधुनिक घार निर्माण गर्ने फर्निचर स्थापना गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १५/१६ जनालाई रोजगारीसमेत दिन सफल भएका छन्।

स्वदेशमै मौरीपालनबाट वाषिर्क १२ देखि १३ लाख रुपैयाँ कमाउन सक्ने भएपछि उनलाई लाहुरे हुनुभन्दा स्वदेशमा नै बसेर केही गर्दा छुट्टै आनन्द मिलेको सुनाउँछन्।

मौरीबाट मनग्य आम्दानी हुन थालेपछि उनले आधुनिक घार निर्माण तथा पेसालाई व्यवसायिकरण गर्दै लैजानेक्रममा हाल अघौर्चोकमा गार्डेन सिटिवि फर्मिङ सञ्चालन गरेर बसेका छन्।

उनले अहिले वाषिर्क सात सय बढी घार बिक्री वितरण गर्दै आएका छन्। प्रचलित मूल्यअनुसार मह प्रतिकेजी सात सय, मौरी घार तीन हजार पाँच सय र मौरीसहितको घारलाई आठ हजारमा बिक्री गर्दै आएको उनी बताउँछन्।

मौरीको आनीबानीदेखि स्वाभावसमेत बुझेका गुरुङले मौरीपालनसम्बन्धी तालिमसमेत दिन सक्छन्। मौरीजस्तै मेहनत गर्न पछि नपर्ने उनी बिहानी घामको भुल्केसँगै बेलुका घाम नअस्ताउञ्जेल मौरी रेखदेखमा बिताउने गर्छन्।

लेखनाथ नगर क्षेत्रभित्र हिउँदे बाली, वन जंगल र चरन क्षेत्र पनि भएकाले मौरीपालनका लागि उपयुक्त भएको तर्क दिँदै तरकारी अन्नबाली लगाउने कृपकलाई विषादीरहित वातावरण बनाइदिन गुरुङको अनुरोध छ। उनले सेरेना जातका मौरी पाल्दै आएका छन्, जुन लेखनाथको हावापानी सुहाउँदो छ।

मौरीको एक घारबाट वातावरण राम्रो भएमा २० केजीसम्म मह उत्पादन गर्न सकिने भएकाले अन्य किसानलाई पनि मौरीपालनमा लाग्न उनले अनुरोध गरेका छन्।

मौरी एक, गुण अनेक भनेजस्तै मौरीले उत्पादन गरेको मह हरेक जडिबुटीदेखि फलफूलको रसबाट बन्ने हुँदा दैनिक बिहान बेलुका एक एक चम्चा मह खाँदा रोग लाग्नबाट बच्न सकिने उनी बताउँछन्।

मेहनतले प्रत्यक्ष्यरुपमा आम्दानी आफूलाई भए पनि अन्य किसानका अन्नबालीमा मौरीको अको महत्वपूर्ण काम परागशेचनले कृषि उत्पादनमा समेत वृद्धि हुने उनी बताउँछन्। मेहनति गुरुङले मौरीको मेहनतबाट मानिसले पनि केही कुरा सिक्नु पर्ने सुझाव दिन्छन्।

- भीमपाणि बराल