‘ना’मा भट्टराई

पोखरा, २८ फागुन । नेपाल हवाई खेलकुद संस्था (ना) को पोखरामा शनिबार भएको १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भट्टराई यसअघि पनि अध्यक्ष थिए ।

कार्यसमिति प्रथम उपाध्यक्षमा सोभित बानियाँ, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, प्राविधिक उपाध्यक्षमा रविन गुरुङ, महासचिवमा वसन्तराज दवाडी, सचिवमा इन्द्रप्रसाद भण्डारी, कोषाध्यक्षमा कृष्णहरि सुवेदी, सहकोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहेका छन् ।

सदस्यमा मधुकर सुवेदी, प्रकाश पोखरेल, पुनम वमजन, अनन्तराज पौडेल, चिनबहादुर बानियाँ, अनिल केसी, चेतबहादुर न्यौपाने, आशीष भट्टराई र अशोक पराजुली चयन भए । कार्यकाल २ वर्ष हुने उक्त कार्यसमितिमा अधिकांश पुरानै अनुहार हुन् ।

अध्यक्ष भट्टराईले नियमनकारी निकायलाई जिम्मेवार बहन गराउन पहल गर्ने, अव्यवस्थित प्याराग्लाइडिङ व्यवसायीलाई नयाँ ढंगले तथा पूर्वाधार विकास गर्ने, अन्तर्राष्ट्रियस्तरमा खेलाडी पुर्‍याउन विभिन्न प्रतियोगितामा सहभागी गराउने लक्ष्य लिएको बताए ।

यसअघि नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाईले उक्त महाधिवेशन उद्घाटन गर्दै पोखराको प्याराग्लाईडिङ पेशा संरक्षणमा आफूहरु गम्भीर भएको बताए ।

कार्यक्रममा राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, नाका सल्लाहकार टीकाराम सापकोटा, महासचिव बसन्तराज दवाडीलगायत बोलेका थिए ।

उक्त अवसरमा प्याराग्लाइडिङको प्रि-वर्ल्ड कपअन्तर्गत इण्डोनेशियामा च्याम्पियन भएको नेपाली टिम, भारतको उत्तराखण्डमा सहभागी खेलाडीलाई सम्मान गरिएको थियो ।

- अादर्श समाज सम्वाददाता