वाषिर्कोत्सवमा रेडियो जननी अवार्ड र सम्मान

पोखरा, २८ फागुन। रेडियो जननीले विभिन्न व्यक्तिलाई जननी अवार्ड र जननी सम्मान प्रदान गर्दै स्थापनाको तेस्रो वाषिर्कोत्सव मनाएको छ ।

१०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा जननीको चौथो वर्ष प्रवेश अवसरमा पोखराका २९ वटै वडाका क्रियाशील महिलाको समूहमध्ये उत्कृष्ट तीन समूहलाई जननी अवार्ड-२०७३ प्रदान गरिएको हो ।

यस्तै, विभिन्न क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पुर्‍याएका ११ महिलालाई जननी सम्मान-२०७३ बाट सम्मान गरियो ।

जननी अवार्ड २०७३ भगवती आमा समूह पोखरा १८, सत्य सेवा आमा समूह पोखरा १३, मैदान आमा समूह पोखरा १६ ले प्राप्त गरेका छन् ।

अवार्ड प्राप्त समूहलाई प्रमुख अतिथिद्वय सांसद शारदा पौडेल, वृन्दादेवी राना र रेडियो जननीका अध्यक्ष हीरा भट्टराईले उक्त अवार्ड प्रदान गरे ।

यस्तै, जननी सम्मानबाट उद्यमशीलतातर्फ तीर्थमाया जोशी, शिक्षामा एलियाम्मा जोन, महिला बालबालिकामा महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मीदेवी जिसी, लोक संगीत क्षेत्रतर्फ प्राज्ञ हरिदेवी कोइराला, स्वाथ्यमा डा चण्डिका पण्डित, सामाजिक क्षेत्रमा प्रमिला तझ्या, पर्यटनमा नतासा श्रेष्ठ, अपांगता क्षेत्रतर्फ रीना पालिखे, साहित्यिक क्षेत्रमा गीता खत्री, सामाजिक समावेशीतर्फ चमेली खाती, खेलकुदमा मञ्जु गुरुङ सम्मानित भए । उनीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर बिमला भण्डारीले जानकारी दिइन् ।

शान्ति हस्तकला उद्योग लामाचौर १६ लाई पद्मावती हस्तकला उद्योगबाट पद्मावती अवार्ड प्रदान गरिएको छ ।  जननी तेस्रो उद्यमी आवाज स्मारिकासमेत विमोचन गरियो ।

कार्यक्रममा सांसद पौडेलले रेडियो जननीले समाजका सबै संघसंस्था तथा व्यक्तिसँग सहकार्य गरेर महिलालाई आर्थिकरुपमा सक्षम बनाउन गरेको कार्य प्रशंसनीय रहेको बताइन् । सांसद रानाले रेडियोले महिलाको क्षमता विकासका लागि विभिन्न सीपमूलक तालिम दिएर उनीहरुलाई आर्थिक आर्यआर्जनतर्फ प्रेरणा प्रदान गरी राज्यलाई सहयोग गरेको बताइन्।

सम्मानित व्यक्तित्व प्राज्ञ हरिदेवी कोइरालाले सम्मानले आफूहरुलाई कार्यक्षेत्रमा अझै सक्रियरुपमा काम गर्न प्रोत्साहन मिलेको बताइन्।

रेडियो जननीका अध्यक्ष भट्टराईले कार्यक्रममाथि प्रकाश पार्दै रेडियोले महिलालाई विभिन्न किसिमका सीपमूलक तालिम दिनुका साथै उद्घोषण तालिम दिएको बताइन् ।

वानका केन्द्रीय अध्यक्ष गोपाल झाले महिलाको टिमले रेडियो सञ्चालन गर्नु आफैमा विशिष्ट काम रहेको बताए ।

कार्यक्रममा एमाले कास्की अध्यक्ष कृष्ण थापा, नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुंगाना, महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख जिसी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, रेडियो जननीका संस्थापक तथा कार्यक्रम संयोजक मिलन थापा, नेपाल हस्तकला महासंघका केन्द्रीय सदस्य होमनाथ उपाध्यायलगायत बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट रेडियो जननी श्रोता सम्मानबाट कलाकार मिलन शेरचनलाई सम्मान गरिएको थियो भने स्मार्ट जोडी सम्मानबाट बिग एफएमका अध्यक्ष महेश भण्डारी र श्रीमती रश्मी अधिकारी तथा डुकेयर फाउडेसनका कार्यकारी निर्देशक सुरेन्द्र परियार र श्रीमती रोजी भुषाललाई समान गरिएको थियो ।

र्‍यालीमा उत्कृष्ट हुनेमा प्रथम ज्योति महिला बचत तथा सहकारी, द्वितीय महिला जागरण संस्था, तृतीय सक्रिय महिला समूहलार्ई पुरस्कृत गरिएको थियो ।

अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संस्थापक तथा स्मारिका प्रकाशन समितिका संयोजक लक्ष्मी पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर बिमला भण्डारीले गरेकी थिइन् ।

- अादर्श समाज सम्वाददाता