विरुवा बजार महोत्सव फागुन २९ देखि

पोखरा २५ फागुन। स्याङ्जास्थित विरुवा बजारमा फागुन २९ देखि चैत २ गतेसम्म ११ औ विरुवा बजार  महोत्सव हुने भएको छ।

फागु पूणिर्मा अवसरमा बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह तथा विरुवा बजार ब्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विकास अनुशासन गतिशीलता, हामी विरुवावासी युवाको प्रतिबद्धता’ भन्ने मूलउद्घोषका साथ हुन लागेको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने संयोजक तथा बाल कन्या क्लबका अध्यक्ष अब्बु मियाँले जानकारी दिए।

अध्यक्ष मियाँका अनुसार महोत्सवमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, लोकदोहोरी, नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, बालादेवी मन्दिरको पूजालगायत कार्यक्रम हुने भएको छ।

भलिबल प्रतियोगितातर्फ प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। महोत्सवमा कलाकार ज्योति मगर, बद्री पंगेनी, राजु गुरुङ, कुलेन्द्र विक, प्रीति आले, दुर्गा गुरुङ, शिव हमाल, शंकर विरही गुरुङ, जीवन दाहाल, माया गुरुङ, गणेश राना, बालकृष्ण वाग्ले, सुरेश राना, नीशा गुरुङ, सुरज आचार्यको प्रस्तुति रहनेछ।

हाँस्यतर्फ दीपक थापामगर, ज्याक काँइलालगायतको प्रस्तुति रहने संस्थाका सल्लाहकार राजकुमार गुरुङले बताए।

त्यसैगरी भिक्टोरिया डान्स एक्टिङ स्कुल दमौली, नवसाधना कला केन्द्र पोखरा र तरेली सांस्कृतिक परिवार पोखराको कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

- एजेन्सी