पोखरामा घन्किँदैछ नेपथ्य

पोखरा, २३ फागुन। संगीतमार्फत् सामाजिक सेवामा अग्रसर नेपथ्य ब्याण्ड ३ वर्षपछि पोखरामा पुनः गुञ्जिने भएको छ ।

कास्कीका ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले ब्याण्डले आर्थिक श्रोत संकलनस्वरुप कार्यक्रम गर्न लागेको हो ।

आगामी चैत २६ गते पोखरा रंगशालामा नाइट लाइभ प्रस्तुति गर्ने तयारी भइरहेको आयोजकले पोखरामा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

‘फेरि उठ्नेछ नेपाल’ नामक इभेण्टको विशेष शो दोश्रो संस्करण पोखरामा आयोजना हुन लागेको हो । अघिल्लो वर्ष काठमाडौंमा पहिलो संस्करण भब्यताका साथ सम्पन्न भैसकेको छ ।

कास्की ल्वाङघलेलको गौरीशंकर मनिलाल मावि र सल्यान गाविसको बाँसखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजक तथा युवा ब्यवसायी किरण गुरुङले जानकारी दिए ।

कार्यक्रमबाट करिब २० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ ।

बचत रकम विद्यालयको शैक्षिक विकासको लागि सहयोग गरिने गुरुङले बताए। गौरीशंकर मनिलाल माविमा हाल तीन सय विद्यार्थी पढ्छन् ।

दश जोड दुर्इसमेत सञ्चालन भएकोले उक्त विद्यालयको आर्थिक अवस्था कमजोर हुँदै गएको विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षत्रीले बताए ।

उनले केही सहयोग जुटाउन सके ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षाको विकास हुने विश्वास व्यक्त गरे ।

गत वर्ष काठमाडौंमा १० हजार बढी दर्शकमाझ प्रस्तुत भएको कार्यक्रम पोखरामा पनि उत्तिकै हाराहारीमा दर्शक भित्र्याउने आयोजकको लक्ष्य छ ।

कार्यक्रम ब्यवस्थापन व्याण्डवागन वाइ पोजिटिभ भाइव कम्पनिले गर्ने कार्यक्रम संयोजक विकेश कायस्थले बताए ।

नेपथ्य ब्याण्डका भोकलिष्ट अमृत गुरुङ हुन् । कार्यक्रममा रेशम, छेक्यो छेक्यो देउराली डाँडा, भेंडाको ऊनजस्तो, जोगले हुन्छ भेटलगायत १८ बढी गीत उनले करिब २ घण्टाबीचमा प्रस्तुत गर्ने छन् ।

- सुरक्षा श्रेष्ठ/विद्यार्थी पत्रकार