अलि मियाँका नाममा फुटबल

पोखरा, २३ फागुन । लोककवि अलि मियाँका नाममा पोखरामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ।

अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा-१३ मा क्रियाशील मुस्िलम युवा क्लबको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने जनाएको हो।

चैत १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा ४५ टिमले सहभागिता जनाउने आयोजक प्रतिष्ठानले बताएको छ। प्रतियोगिताको विजेताले एक लाख २५ हजार र उपविजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै, प्रतियोगिताभर सवोर्त्कृष्ट खेलाडीले ३० हजार र उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान १५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

अलि मियाँको पदचाप पछ्याउँदै फुटबल प्रतियोगिता गर्न लागिएको संयोजक अफजल हसन मियाँले बताए।

‘स्वर्गिय अलि मियाँ नाताले बाजे हुनुहुन्थ्यो’-अफजल हसनले थपे-’जीवनभर नेपाली लोकसाहित्यको साथै संस्कृतिको सर्म्वर्द्धन र संरक्षण गर्ने कार्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँलाई प्रेरणाको स्रोत मान्दै क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो।’

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले प्रतिष्ठानले देशका विभिन्न स्थानलगायत भारत, बंगलादेश र अमेरिकामा सांस्कृतिक कार्यक्रम गरिसकेको र प्रतिष्ठानद्वारा करिब दुर्इ सय ५० बढी स्रष्टा सम्मानित भइसकेको जानकारी दिए।

‘सबै क्षेत्रका नेपालीका लागि अलि मियाँ प्रेरणाका श्रोत हुनुहुन्थ्यो’-हनिफले सम्झे-’युवाहरु नै देशका खम्बा हुन् र देश जोगाउने जिम्मा युवाको काँधमा सुम्पनुपर्छ भन्ने उहाँको धारणा थियो।’

प्रतियोगिता सम्पन्न गर्न छ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। सहभागिताका लागि प्रत्येक टिमले पाँच हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ । प्रतिष्ठानले प्रतियोगिता आगामी वर्षमा पनि निरन्तरता दिने जनाएको छ।

- अादर्श समाज सम्वाददाता