हेमजा आलु महोत्सवमा दुर्इ करोड कारोबार लक्ष्य

पोखरा, १६ फागुन। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ हुने आठौं हेमजा आलु महोत्सव-२०७३ तयारी तीव्र पारिएको छ।

फागुन २३ देखि चैत १ गतेसम्म हेमजाको विष्णुपादुका खेल मैदानमा हुने महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारी तीव्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

त्यस क्षेत्रको समग्र कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुदलगायत प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विष्णुपादुका क्लबका उपाध्यक्ष एवं महोत्सव संयोजक ज्ञानु थापाले जानकारी दिए ।

महोत्सव तयारीको लागि थापाको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ । यस्तै, नौ सदस्यीय सम्पादन समिति तथा विभिन्न ३२ उपसमितिसमेत गठन गरिएको छ।

महोत्सव आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, ताजा तरकारी प्रदर्शन, वालउद्यान, विविध सांस्कृतिक कार्यक्रम, नृत्य  प्रतियोगिता, हाँस्य कलाकारको बेजोड प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी चियाको बिक्री एवं प्रदर्शनी रहेको छ।

महोत्सवमा सेतीनदी र्‍याफि्टङ, जीपलाइन फ्लायर, वञ्जीजम्पको टिकट उपलब्ध गराइने संयोजक थापाले जानकारी दिए।

महोत्सव सम्पन्न गर्न करिब ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।

महोत्सव स्थलभित्र र बाहिर गरी करिब दुर्इ करोड रुपैयाँ बराबरको आलुको कारोबार हुने कृषक परिचालन समितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

महोत्सवमा १५ प्रकारका आलुका परिकार रहने रेष्टुरेन्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले बताए ।

महोत्सवमा ६० वटा व्यावसायिक स्टलसहित कृषि प्रविधि प्रदर्शनी, प्राथामिक उपचार केन्द्र र सूचना केन्द्र रहने व्यवस्था मिलाइएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापाले जानकारी दिए। महोत्सव प्रवेशमा ८० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीले ५० रुपैयाँ तिर्नुपर्छ ।

महोत्सवमा बेलुका चर्चित व्याण्डको लाइभ कर्न्र्सट हुनेछ भने होली विशेष पनि कार्यक्रम राखिएको छ ।

जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले महोत्सवले यस क्षेत्रलाई आलु गाउँको रुपमा परिचित गराएको बताए। उनका अनुसार कास्कीमा गत वर्ष ३३ करोड रुपैयाँको आलु उत्पादन भएको थियो।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीप्रेन्द्र श्रेष्ठले महोत्सव सफल बनाउन महासंघ समन्वय गरेर अगाडि बढ्ने बताए।

कार्यक्रममा महासंघका नवनिर्वाचित कार्य समिति पदाधिकारी, सदस्य तथा पार्षद बधाईसहित सम्मान गरिएको थियो।

विष्णुपादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मूलआयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

हेमजामा गत वर्ष तीन सय ५० हेक्टर क्षेत्रफलमा आलु लगाइएको अर्यालले जानकारी दिए। उनका अनुसार गत वर्षको उत्पादन प्रतिहेक्टर १४ दशमल ८५ रहेको थियो।

गत वर्ष  १५ करोड ५९ लाख २५ हजार रुपैयाँको आलु उत्पादन भएको अर्यालले जानकारी दिए। हेमजामा एक हजार पाँच सय घरधुरीले आलु लगाए पनि व्यावसायिकरुपमा एक हजार एक सय ५० घर धुरीले आलु खेती गर्दै आएका छन्।

यस वर्ष किसानले अझै आलु खन्न बाँकी रहेकोले यकीन तथ्यांक नआएको अर्यालले जानकारी दिए। हेमजामा खुमल लक्ष्मी, जनक देव, खुमल रातो, खुमल सेतो, खुमल उपहार, कुर्सीज्योति आलुको बीउ लगाउन सकिने प्राविधक सहायक गुरुप्रसाद अर्याल बताउँछन्।

- अादर्श समाज सम्वाददाता