भुषाललाई अलिमियाँ लोक वाङमय पुरस्कार

पर्वत, १६ फागुन। लोकगायक युवराज भुषाललाई यस वर्षको अलिमियाँ लोक वाङमय पुरस्कारबाट सम्मानित गरिएको छ।

लोककवि अलिमियाँको जन्मजयन्ती अवसरमा प्रत्येक वर्ष फागुन १५ गते वितरण गरिने उक्त पुरस्कारबाट भुषाल सम्मानित भएका हुन्।

आइतबार लोककवि अलिमियाँको ९९ औँ जन्मजयन्तीको अवसरमा उनलाई २० हजार नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो।

दक्षिणी पर्वतको वहाकीठाँटी गाविस वडा नं. ६ लिम्सिङमा जन्मेर नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण र सर्म्वर्द्धनका क्षेत्रमा पुर्‍याएका योगदानको कदर र मूल्यांकन गर्दै अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई सम्मानका लागि छनोट गरेको हो।

लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवासको संयोजकत्वमा गठित स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला र लोकदोहोरी सम्राट प्रजापति पराजुली सदस्य रहेको प्रतिभा छनोट समितिले भुषाललाई सिफारिस गरेको थियो।

कलाकार छनोट समितिका संयोजक तुलसी प्रवासले नेपाली लोक तथा दोहोरीगीतमा धेरैथरी विकृति भित्रिन लागेको वर्तमान अवस्थामा पनि ग्रामीण क्षेत्रका पुराना भाका तथा शब्दलाई टपक्क टिपेर गीतमार्फत अभिव्यक्ति दिने गरेका भुषाल नेपाली मौलिक लोक संस्कृतिमा राम्रो सम्भावना बोकेको हुँदा प्रतिभा छनोट गरेको बताए।

अलिमियाँका छोरा हनिफ मियाँले स्थापना गरेको उक्त सम्मान, ग्रामीण भेगमा गाइने लोकभाकाको जगेर्ना गरेको भन्दै कलाकार भुषाललाई प्रदान गरिएको उनले जानकारी दिए।

कार्यक्रममा नै सामाजिक क्षेत्रमा क्रियाशील एक दम्पत्तिलाई पनि सम्मान गरिएको छ। तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई सामाजिक क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको कदर गर्दै सम्मान गरिएको हो।

सम्मानित कलाकार भुषालले प्रतिष्ठानले आफूलाई अगाडि बढ्न अर्काे खुड्किला थपिदिएको भन्दै सम्मानित गरेकोमा आभार व्यक्त गरे।

प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेले लोकगीत मौलिकतामा आधारित हुनुपर्ने बताए। लोकगीत आफैमा संगीत नभई, साहित्य भएको र त्यसमा लय तथा शब्दले त्यसलाई पूर्णता दिने बताए।

कार्यक्रममा साहित्यकार इन्द्रकुमार विकल्प, काजी रोशन शर्मा, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाललगायतले बोलेका थिए। अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालको स्वागत तथा सञ्चालन अलिमियाँ लोकवाङमय प्रतिष्ठानका कोषाध्यक्ष तुलसी प्रवासले गरेका थिए।

भुषालले २०६५ सालमा तिर्खा पानीको नामक एल्बमबाट औपचारिक गायनयात्रा प्रारम्भ गरेका हुन्। उनका दिलमा लेखेसी, भजन समपण, मनको धोको, हासम बोलम्, नरोइ नरोइ बस मेरी सानु, नरोऊ नरोऊ आमा, नभेटी मर्दिन, आँधीखोला तरेँ-खेली), सरर आयो पर्वतमा मोटर, यतै पढौली -नौमती बाजा), के पीर पर्‍यो बहिनी-खेली) लगायतका एल्बम प्रकाशित छन्। उनको आफ्नै म्यूजिक कम्पनि दुर्गादेवी क्रियशन प्रालि पनि सञ्चालनमा रहेको छ। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका उपाध्यक्षसमेत रहेका छन्।

पोखरामा स्थापना भएका प्रशस्तै वाङ्मयिक संस्थाहरुमध्ये अग्रणी भूमिका निर्वाह गरिरहेको यस प्रतिष्ठानले वषैपिच्छे विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता