फिस फेस्टिभलमा फस्टायो माछा कारोबार

लेखनाथ, १६ फागुन। पर्यटन तथा प्रवर्द्धनका लागि वेगनासताल किनारमा सञ्चालित माछा महोत्सव लक्ष्यअनुसार सफलता हात पार्दै सोमबार सकिएको छ।

तीन दिनसम्म सञ्चालित फिस फेस्टिभलमा करिब चार हजार किलो माछा बिक्री भएको छ । महोत्सवको ७० हजार दर्शक अवलोकन गरेको आयोजकको दाबी छ ।

फेस्टिभल समापनमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मेला तथा महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै यहाँ रहेका प्रकृतिक सम्पदाको संरक्षण गर्ने बताए ।

उनले यहाँ रहेका मौलिक सस्कृतिको संरक्षण गर्न सके भावी पुस्ताले यसको सदुपयोग गर्न सक्ने बताए ।

महोत्सव मूलसंयोजक दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लि-वर्ड प्रतिनिधि लाक्पा शेर्पा, वेगनास युवा क्लबका अध्यक्ष मदनबाबु कोइरालालगायतले महोत्सवको समय छोटो भएकाले कम्तीमा पनि एक हप्ताको बनाउनु पर्ने सुझाव दिए ।

संस्थाका महासचिव वीरभद्र कँडेलले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले गरेका थिए।

महोत्सवमा कलाकारको मनोरञ्जनात्मक प्रस्तुतिसँगै डुंगा दौड तथा पौडी प्रतियोगिता भएको थियो ।

- अादर्श समाज सम्वाददाता