वेगनास किनारमा फिस फेष्टिवल

लेखनाथ , १४ फागुन। लेखनाथ नगर क्षेत्रमा माछा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो वेगनास फिस फेस्टिवल शनिबारबाट सुरु भएको छ।

‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने नाराका साथ फागुन १६ गतेसम्म बेगनासताल किनारमा हुने फेस्टिवलको क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले उद्दघाटन गरिन्। खतिवडाले यस क्षेत्रको समग्र आर्थिक उन्नतिका महोत्सवले टेवा पुर्‍याउने बताइन्।

खतिवडाले पोखरा आएका पर्यटक लेखनाथसम्म आई नपुग्दा उनीहरूको यात्रा नै पूरा नहुने मान्यता स्थापित गर्न यहाँका तालहरूको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिन आग्रह गरिन्।

आयोजक संस्थाका अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोरा, लीवर्डका कृष्णप्रसाद बराल, पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुमनमोहन भट्टराई, नेपाली कांग्रेस लेखनाथ नगर समितिका सचिव धु्रवनाथ अधिकारी, एमालेका लेखनाथ नगर सहसंयोजक मोहन गुरुङ, माओवादी केन्द्रका लेखनाथ नगर अध्यक्ष शिवजी लामिछाने, राप्रपाका लेखनाथ नगर अध्यक्ष कृष्ण रेग्मी, वेगनासताल बस सञ्चालक समितिका अध्यक्ष खेम गुरुङ, बेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेल, ङ्योए तमु धिका अध्यक्ष मानबहादुर गुरुङ, संघीय समाजवादी लेखनाथका उपाध्यक्ष बुद्धिमाया थापा, बेगनास युवा क्लबका अध्यक्ष मदनबाबु कोइराला र बेगनासताल महिला समूहका अध्यक्ष विष्णुमाया तिवारीलगायतले बोलेका थिए।

उद्घाटनपूर्व सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। सो कार्यक्रमको सञ्चालन एसोसिएसनका महासचिव वीरभद्र कँडेल र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले गरेका थिए।

फेस्टिबलमा पप कर्न्र्सट, हास्य व्यंग्य, लोकदोहोरीका साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुंङ्गा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षण कार्यक्रममा भुरा तालमा छाड्ने कार्यक्रम हुने छन्। फेष्टिवलमा २५ स्टल छन्।

- अादर्श समाज सम्वाददाता