लेखनाथ महोत्सव सकियो

लेखनाथ, ८ फागुन। लेखनाथको तालचोकमा सञ्चालित १३ औं संस्करणको लेखनाथ महोत्सव लक्ष्य अनुसारकै सफलता हात पार्दै आइतबारदेखि सकिएको छ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि भन्ने नाराका साथ पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेलाको रुपमा सञ्चालित महोत्सवको अन्तिम दिन दर्शकको उल्लेख्य भीड थियो। अन्तिम दिनमात्र करिब २० हजार दर्शक भित्र्याउन सफल भएको प्रचारप्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारी बताउँछन्।

यो देशकै उत्कृष्ट महोत्वसको रुपमा स्थापित भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाइ छ। पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खत्रिवडाले निजी क्षेत्र आर्थिक विकासको मेरुदण्डमात्र नभई इन्जिन नै भएको बताइन्। स्वदेशमा नै रोजगारी सृजना गर्नका लागि सरकारी तहबाट ठूला उद्योगलाई लगानीमैत्री वातावरण र साना उद्योगको संरक्षण चाहिने उनको भनाइ छ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा संसद यज्ञबहादुर थापाले अबको १४ औं लेखनाथ महोत्सव प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भनिएको सिलिङ बगैचामा गर्न आयोजकलाई आग्रह गरे।

संासद श्रीमाया थकालीले यस प्रकारका मेला, महोत्सवले प्रतिभा प्रस्फुटन र स्थानीय उत्पादनको बजारीकरणका साथमा व्यवसायिक प्रवद्धनमा समेत सहयोग पुर्‍याउने बताइन्।

संघका महासचिव छत्रधर आत्रेयले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए।

यता, महोतसवको मुख्य आर्कषणको रुपमा रहेको गायन विधाको गण्डकी तारा यमबहादुर नेपाली बनेका छन्। उनले ५० हजार प्राप्त गरेका छन् भने उपविजेता बनेका सोनुकुमार विकले २५ हजार प्राप्त गरेका छन्।

महोत्सवको अको आकर्षण रत्यौली गीत प्रतियोगितामा तोरीबारी आमा समूह लेखनाथ-१७, भरतपोखरीले प्रथम स्थान हासिल गरेको छ भने प्रगतितशील महिला समूह लेखनाथ-१२, तृतीयमा खास्टेताल बराही महिला समूह लेखनाथ ४ र ६ भए।

- अादर्श समाज सम्वाददाता