अनेसास गण्डकीको स्थापना दिवस

पोखरा, ८ फाल्गुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकीले स्रष्टा सम्मान, वेबसाइट शुभारम्भ, आजीवन सदस्यता वितरण, रचनावाचनलगायतका कार्यक्रम गरी प्रथम स्थापना दिवस मनाएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीलेसमारोहको उद्घाटन गर्दै अनेसास खुल्ला आकाश भएको धारणा राखे। प्रमुख अतिथि लेकालीले स्रष्टा, साधकलाई विश्वव्यापी सञ्जालमा जोड्ने उत्कृष्ट स्थल अनेसास भएकाले सबै वाङ्मयसेवी यसको छत्रछायाँमा विचरण गर्न सक्ने बताए।

पछिल्लो समय देखिएको भाषा विवादतर्फ संकेत गर्दै लेकालीले थपे-‘नेपाली भाषामा देखिएको विवाद शुद्धिकरणमात्रै होइन, अनेसासलाई समृद्ध बनाउन विधान सम्बोधनमासमेत हुन लागेको छ।’

समारोहमा संस्थाले संस्कृतिकर्मी चेतन कार्कीलाई अभिनन्दन, मुक्तकलाई अंग्रेजी भाषामा प्रकाशन गर्ने मुक्तककार तीर्थराज अधिकारीलाई मुक्तकमणि उपाधि र नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेलाई विशेष सम्मान गरेको छ। तीनै जनालाई प्रमुख अतिथि लेकालीले दोसल्ला र ताम्रपत्रसहित सम्मान गरे।

यस्तै, संस्थाको वेबसाइट डब्लुडब्लुडब्लु डट आइएनएलएस गण्डकी डट ओआरजीको पनि प्रमुख अतिथि लेकालीले सोही समारोहबीच शुभारम्भ गरे।

अभिनन्दित व्यक्तित्व संस्कृतिकर्मी कार्कीले पोखरामा माछा मार्न झरेको स्मरण गर्दै जीवनमा अझै धेरै कार्य गर्न बाँकी रहेको बताए।अर्का सम्मानित स्रष्टा तीर्थराज अधिकारीले नेपाली मुक्तकलाई अंग्रेजी भाषामा प्रकाशन गरे तापनि अनेसासले दिएको मुक्तकमणि उपाधि खरायोको जीउमा सिंहको टाउको जोडेजस्तो गहुँगो अनुभूति भएको धारणा राखे।

सम्मानित स्रष्टा रामकाजी कोनेले पोखरामा आएर सम्मानित हुन पाउँदा हर्षानुभूति भएको बताए।

अभिनन्दिन स्रष्टा संस्कृतिकर्मी कार्कीको परिचय राख्दै साहित्यकार प्रकाश सायमीले कार्कीको बहुआयामिकता शब्दमा व्यक्त गरेर कहिल्यै नसकिने उल्लेख गरे।

दुर्गा न्यौपानेले तीर्थराज अधिकारीको परिचय राख्दै मुक्तक लेखनमा क्रियाशील धेरै व्यक्तित्वमध्ये विशेष व्यक्तित्वका रूपमा अधिकारीको चिनारी दिइन्।

रामकाजी कोनेको परिचय प्रस्तुत गर्दै कल्याण पन्तले मुक्तकलाई आफ्नो मुख्य विधा बनाएर हिँडेका कोनेको लेखन पक्ष जति मजबुत छ, वाचन र शब्द चयन पनि उत्तिकै बेजोड रहेको उल्लेख गरे।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, गीतकार सुवासचन्द्र ढुंगेल, कवि मुरारी सिग्देल, डा. जगन्नाथ रेग्मी, भूपधिधि पन्त, सहप्राध्यापक नवराज सुवेदी, रेन्डम रिर्र्डस सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेललगायतले बोलेका थिए। समारोहबीच विभिन्न स्रष्टाले मुक्तकवाचनसमेत गरेका थिए।

अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवेन्द्र केसीले स्वागत तथा कार्यक्रमबारे प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव असफल गौतमले गरेका थिए।

- अादर्श समाज सम्वाददाता