भलिबलमा आजदेखि सेमीफाइनल

पोखरा, २५ माघ। पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा मंगलबार लिग चरणका खेल सकिएका छन्। प्रतियोगितामा पुरुषतर्फ समूह एबाट नेपाल प्रहरी विजेता र आयोजक पश्चिमाञ्चल उपविजेता बन्दै सेमीफाइनल पुगेका छन्।

समूह बीबाट नेपाल आर्मी र एपीएफ क्रमशः विजेता र उपविजेता हुँदै अन्तिम चारमा पुगेका छन्।

यस्तै, महिलामा समूह एबाट एपीएफ र पश्चिमाञ्चल क्रमशः विजेता र उपविजेता तथा समूह बीबाट न्यू डायमण्ड एकेडेमी विजेता र नेपाल प्रहरी उपविजेता हुँदै सेमीफाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबार भएको प्रतिष्पर्धामा युपीए भारतलाई २५-६, २५-६ र २५-१० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड समूह बीको विजेता बन्दै अन्तिम चारमा पुगेको हो।

मंगलबार भएको अन्तिम लिग खेलमा पश्चिमाञ्चलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-० सेटमा पराजित गर्दै सेमीफाइनमा स्थान बनाएको छ। उसले आर्मीलाई २५-१६, २६-१६ र २५-१८ को स्कोरमा हराएको हेा।

मंगलबार भारतको युपी भलिबल संघले अन्तिम अवस्थामा विशेष कारण देखाई प्रतियोगिता नखेलेपछि एक खेल अगावै समूह विजेता बन्दै नेपाल पुलिस र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका हुन्।

अधिकांश भारत हरियाणाका खेलाडी रहेको क्लब लिग च्याम्पियन हेल्प नेपालले आर्मीलाई पराजित गरेता पनि अंक बाँडनु पर्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो।

बुधबार पहिलो सेमीफाइनलमा महिलातर्फ एपिएफ र नेपाल प्रहरी भिड्नेछन् भने। पुरुषतर्फ नेपाल प्रहरी र एपिएफ आमनेसामने हुनेछन्।

बिहीबार महिलातर्फको दोश्रो सेमीफाइनलमा न्यू डायमण्ड एकेडेमी र पश्चिमाञ्चल तथा पुरुषतर्फ आर्मी र पश्चिमाञ्चलबीच प्रतिष्पर्धा हुनेछ।

- अादर्श समाज सम्वाददाता