एपिएफ र पुलिसको विजयी सुरुवात

पोखरा, २३ माघ। पोखरामा जारी सिर्जना अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताअन्तगत आइतबारको खेलमा दुर्इ विभागीय टीमले विजयी सुरुवात गरेका छन्।

आइतबार भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित निकाल्दै सुखद् सुरुवात गरेका हुन्। जितसँगै दुबैले खातामा समान तीन अंक बनाएका छन्।

पोखरा रंगशालामा आइतबार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३/० को सोझो सेटमा पराजित गर्‍यो। एपिएफले आर्मीलाई २५-९, २५-१७ र २५-१८ को सेटमा पराजित गर्दै सहज जित निकाल्यो।

महिला तर्फकै दोस्रो खेलमा पुलिसले भारतको उत्तर प्रदेश भलिवल संघलाई सोझो सेटमै पराजित गर्‍यो। पुलिसले भारतको उत्तर प्रदेश भलिवल संघलाई २५-७, २५-२० र २५-१६ को सेटमा पराजित गरेको हो। यसअघि आइतबारको खेलको पूर्वमन्त्री किरण गुरुङले रेप|mी विकास गुरुङलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए।

प्रतियोगिताअन्तर्गत सोमबार चार खेल हुनेछन्। सोमबारको पहिलो खेल महिलातर्फ पूर्वान्ह ९:३० बजे पश्चिमाञ्चल र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, दोस्रो खेल ११:३० बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र सशस्त्र प्रहरी वलको एपिएफ क्लब, तेस्रो खेल दिउँसो १:३० बजे महिलातर्फ न्यू डायमण्ड एकेडेमी र नेपाल प्रहरी तथा चौथो खेल अपराहृन ३:३० बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र सशस्त्र प्रहरी वलको एपिएफ क्लब प्रतिष्पर्धामा उत्रिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखि शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ।

- एजेन्सी