सृजना आमन्त्रित भलिबल सुरु

पोखरा, २२ माघ । पोखरामा शनिबारदेखि सृजना अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। आर्मी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष भलिबलमा स्वर्णविजेता हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगितामा आर्मीले जीतका लागि २५-२१, २९-२७ र २५-२१ को स्कोर कायम गर्न सफल भयो ।

महिला तथा पुरुषतर्फ छ/छ टीम सहभागी छन् । जसमा नेपाली सेना, नेपाल प्रहरी, एफिएफ क्लब, भारतको उत्तर प्रदेश भलिबल संघ र आयोजक पश्चिमाञ्चल भलिबल संघले महिला पुरुष दुवैमा सहभागिता जनाउँदैछन् भने न्यू डायमण्ड एकेडेमीले महिलातर्फ र हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुषतर्फ मात्र सहभागिता जनाउने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

महिला/पुरुष दुवैतर्फ विजेताले एक लाख ५५ हजार पाँच सय ५५, द्वितीय पुरस्कार ७७ हजार सात सय ७७ र तृतीय पुरस्कार ३३ हजार तीन सय ३३ रुपैयाँ पाउने छ । दुवै इभेन्टका सवोर्त्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ ।

त्यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट र्सभरलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उनीहरुले जनही पाँच हजार रुपैयाँ पाउने छन् ।

सृजना विकास केन्द्रको संयोजनमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको आयोजनामा सुरु प्रतियोगितामा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, नेपाल भलिबल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोग छ । प्रतियोगिता माघ २९ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता उद्घाटन गर्दै संसद् विकास समिति सभापति रवीन्द्र अधिकारीले पोखरा खेलकुद र पर्यटन दुवैको राजधानी भएको बताए ।

कार्यक्रममा सांसद चूडामणि जंगली, शारदा पौडेल, सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठ, क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापा, सचिव डीवी नेपालीलगायत बोलेका थिए ।

- अादर्श समाज सम्वाददाता