मनाङलाई आहा रारा गोल्ड कप उपाधि

पोखरा, १५ माघ । कमल श्रेष्ठको निर्णयक गोलको मद्दतमा लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले १५ औं संस्करणको आहा रारा गोल्डकप उपाधि जितेको छ।

पोखरा रंगशालामा खचाखच भरिएका दर्शकबीच शनिबार भएको फाइनल खेलमा उसले घरेलु टोली सहारा क्लबलाई १-० गोलले पराजित गरेको हो। तीन वर्षअघि पहिलो पटक फाइनल खेल्दा सहारासँग १-० गोलले व्यहोरेको हारको बदलासमेत मनाङले लियो। डिफेण्डिङ च्याम्पियन मनाङले लगातार उपाधि जित्न सफल भयो। उसले लगातार दोस्रो र तेस्रो संस्करणमा पनि उपाधि उचालेको थियो। अधिकांश राष्ट्रिय खेलाडी सहभागी मनाङका लागि खेलको ७० औं मिनेटमा डिफेण्डर कमल श्रेष्ठले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो। करिब ३५ याडबाट कमलले प्रहार गरेको बल सिधै पोष्टबाट छिरेको थियो। कमल फाइनल खेलको म्यान अफ दि म्याचसमेत बने। यसअघि, मनाङले केही अवसर सदुपयोग गर्न सकेन। सहाराले पनि राम्रो मौका चुकायो।

विजयी मनाङले उपाधिसहित पाँच लाख एक हजार, उपविजेता सहाराले दुर्इ लाख ५१ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उनीहरूलाई प्रमुख अतिथि महिला तथा बालबालिका कल्याण मन्त्री कुमार खड्कालगायतले पुरस्कृत गरे।

योसँगै मनाङले उपाधि संख्या पाँच पुर्‍याएको छ। क्याराभान र १५ संस्करणमा १३ पटक सहभागी मनाङले १० पटक फाइनल खेल्दै सर्वाधिक पाँच पटक उपाधि जितेर इतिहास रचेको छ। दशौं संस्करणको विजेता पनि मनाङ नै हो। पुलिस र थ्री स्टारले चार चार पटक उपाधि जितेका छन्। क्याराभानसहित गरेर पुलिसको नाममा पाँच पुगेको हो। मनाङले यो सिजनमा दुर्इ उपाधि जित्न सफल भएको छ। गत महिना धनगढीमा भएको गोल्ड कपमा संकटालाई हराउँदै उपाधि जितेको थियो। हेटौंडा गोल्डकपमा भने आर्मीसँग पराजित भएपछि उपाधि विमुख भएको थियो।

प्रतियोगितामा उपविजेता सहारा क्लबले नै विधागत उत्कृष्टतामा दबदबा कायम गर्‍यो। प्रतियोगितामै उत्कृष्ट खेलाडी सहाराका गोलकिपर सुजित गुरुङ बने। उनले हिरो ड्यास स्कुटर प्राप्त गरे। उनले उत्कृष्ट गोलकिपर हुँदै नगद १५ हजार पनि पाए। यस्तै, सहाराकै किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, शिव सुवेदी उत्कृष्ट फरवार्ड घोषित बन्दै १५ हजार नगदसहित पुरस्कृत भए। मनाङ मस्र्याङदी क्लबका सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, निर्णयक गोलकर्ता कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने। अमेरिकाबाट आएको एएनए टोली विरुद्ध ह्याटि्रक गरेका झापा ११ का कर्णलिम्बु त्यही खेलमा तीन गोलले सर्वाधिक गोल कर्ता बने भने झापाले फेयर प्लेको अवार्ड जित्यो।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले रणनीति अनुसार खेलाडीले खेल्न नसके पनि नतिजा आफ्नो पक्षमा आउँदा खुसी लागेको प्रतिक्रिया दिए। सहाराले डिफेन्स खेल्ने थाहा भएकाले साइडबाट च्यापेर खेल्न भने पनि सो अनुसार खेलाडी प्रस्तुत नहुँदा गोलका लागि लामो समय कुर्नु परेको उनको भनाइ थियो। सहाराका प्रशिक्षक किरण श्रेष्ठले बलियो टीम सेटविरुद्ध पनि खेलाडीले उच्च प्रदर्शन गरेको बताए। उनले आफू खेलाडीदेखि सन्तुष्ट रहेको भन्दै मार्टिन र उत्तमको लगातारको प्रयास विफल हुनु र ३५ यार्डदेखि हानेको प्रहार गोलमा परिणत हुँदा शनिबार भाग्यको साथ नमिलेको बताए। ५३ औं मिनेटमा मार्टिनले सिसोकोलाई छलाउँदै गरेको प्रहार किपर दिनेशले पूर्ण नियन्त्रणमा लिन सकेनन् र रिबाउण्डमा उत्तम गुरुंगले प्रहार गरेको बल क्रस बारमा लाग्दै फर्किएको थियो।

सहाराले फाइनलमा आइपुग्दा सुदुरपश्चिमलाई ४-० तथा सिक्किम युनाइटेड र आर्मीलाई टाइब्रेकरमा हराएको थियो। सिधै क्वार्टरफाइनल खेलेको मनाङले धरान एफसीलाई ४-१ तथा संकटालाई १-० गोलले हराएको थियो। सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा यही माघ ४ गते देखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका चर्चित क्लब गरी यसअघि झैं १२ टीमको सहभागिता थियो।

- रञ्जन अधिकारी