‘ढिकुरपोखरीलाई शैक्षिक केन्द्र बनाऔं’

20161105_115326

हेमजा, २० कात्तिक। कास्कीको ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ।

शनिबार ढिकुरपोखरीमा भएको एक कार्यक्रमका वक्तले गाविसलाई शैक्षिक केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिएका हुन्। ढिकुरपोखरी शैक्षिक एवम् धार्मिक महोत्सव सचिवालय कक्षको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षत्रीय प्रशासक खगराज बरालले ढिकुरपोखरीमा रहेको माछापुच्छे्र मावि/शिक्षा क्याम्पसमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन थप गराई ढिकुरपोखरीलाई शैक्षिक केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिए।

बराललेसामुदायिक विद्यालय र कलेजमा विद्यार्थी घट्दै गएको टिष्पणी गर्दै सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर उच्च बनाउन थप पहल गर्नुपर्ने बताए। ढिकुरपोखरीमा धेरै आधारभूत विद्यालय, माध्यमिक विद्यालय र एउटा क्याम्पससमेत रहेको भन्दै प्रशासक बरालले अब त्यस क्षेत्रमा पोलिटेक्नीकल इन्टिच्युटलगायत एग्रो इन्जिनियरिङ कलेज आवश्यक रहेको औंल्याए।

महोत्सवका मूलवाचक स्वामी महाराज गोविन्दशरणले १०८ राष्ट्र शान्ति अभियानअन्तगत देशका ७५ वटै जिल्लामा नमुना शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ महोत्सव गर्ने लागेको जानकारी दिँदै ढिकुरपोखरी महोत्सवले गाविसलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।

योगगुर्रु इश्वरशरणले धार्मिक अनुष्ठानमार्फत् व्यक्ति, परिवार, समाज, राष्ट्र, द्वन्द पीडित, सहिद, पितृ तथा देशविदेशमा रहेका समस्त महानुभावमा शान्ति र  समृद्घि ल्याउन खोजिएको बताए।

महोत्सव मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष मनपति भण्डारीले ढिकुरपोखरीलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सबै गाविसवासी जुमुराउनुपर्ने बताए।

अर्का वरिष्ठ उपाध्यक्ष केदारनाथ अधिकारीले धर्म, संस्कृति, सभ्यता र शिक्षाबीच सामिप्यता रहेको भनाइ राखे।

वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद अधिकारीले महोत्सव आयोजना गर्नु परोपकारी कार्य भएको बताए।

यस्तै, वरिष्ठ उपाध्यक्ष गुञ्जमान् गुरुङले तन, मन र धन दिएर महोत्सव सफल बनाउन लाग्नुपर्नेमा जोड दिए।

महासचिव यादवराज अधिकारीले निकै उत्साहजनक तवरले शान्ति कलश अभियान सञ्चालन भइरहेको दावी गरे।

पाउँदुरकोट प्राविका प्रधानाध्यापक एवम् महोत्सवका सल्लाहकार नेत्रप्रसाद सुवेदीले महोत्सव ढिकुरपोखरीको मात्रै नभई समग्र कास्कीकै गौरव भएको बताए।

पूर्व विद्यार्थी मञ्चका अध्यक्ष डा. दीपकराम सुवेदीले समयको सदुपयोग गर्न जरुरी रहेको औंल्याए।

सह-अध्यक्ष कुलबहादुर गुरुङ ‘कुलुले धर्म, कर्म र सदाचारका लागि महोत्सव आयोजना गरिएको बताए।

क्याम्पस प्रमुख रामचन्द्र सुवेदीले महोत्सव सफल बनाउनु ढिकुरपोखरीवासीको कर्तव्य भएको बताए। महोत्सव मूल आयोजक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम मूल आयोजक समितिका महासचिव यादवराज अधिकारीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता