खैरेनीटार बजार इकाइको साधारणसभा

dsc08932

खैरेनीटार, २० कात्तिक। तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइ, शुक्लागण्डकीको २१ औं साधारणसभा भएको छ।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठले फोहोरमैला व्यवस्थापन नेपालको राष्ट्रिय समस्या भएकाले व्यवस्थापनमा संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले कृत्रिम अभाव गर्ने व्यवसायीलाई संघले संरक्षण नगर्ने बताए।

संघका अध्यक्ष कृष्णराज पण्डितले तनहुँका सबै बजार इकाइ सफल र सबल हुनका लागि व्यवसायीबीच एकता खाँचो रहेको जनाए।

संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठले दगाम भूजिकोट, तीनखोले देवी मन्दिरलगायत पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।

संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा खैरेनीटार बजार इकाइका पूर्व सभापति हरिकुमार श्रेष्ठले सम्भाव्य दुर्घटनामा पर्नेका लागि सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोषको स्थापना गर्न पाएको २५ हजार रुपैयाँको चेक खैरेनीटार बजार इकाइका सभापति अर्जुनकुमार श्रेष्ठलाई प्रदान गरे।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष इश्वरबहादुर विष्ट, नेकपा एमाले शुक्लागण्डकी नगर अध्यक्ष कृष्णबहादुर पौडेल, नेपाली कांग्रेसका शुक्लागण्डकी नगर सदस्य केशवराज पोडेल, खैरेनीटार बजार इकाइका उपसभापति वर्मकुमार श्रेष्ठ, कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ खैरेनीटारका अध्यक्ष समुद्रराम श्रेष्ठ, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मंगला रानालगायतले बोलेका थिए।

कार्यक्रममा खैरेनीटार बजार इकाइको वाषिर्क प्रतिवेदन सभापति अर्जुनकुमार श्रेष्ठले, सचिवको प्रतिवेदन सचिव पूर्णबहादुर कायस्थले र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष गंगाराम श्रेष्ठले प्रस्तुत गरेका थिए।

संघ, खैरेनीटार बजार इकाइका सभापति अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान सभापति हरिबहादुर थापा र सञ्चालन सचिव पूर्णबहादुर कायस्थले गरेका थिए।

- अादर्श समाज सम्वाददाता