पोखरा रोयलको नाफा चार करोड

पोखरा, १ साउन। पोखरा-१०, बुद्धचोकमा रहेको पोखरा रोयल सहकारी संस्थाले एक वर्षमा चार करोड बढी मुनाफा गरेको छ।

सहकारीले आर्थिक वर्ष २०७२/०७३ को असार मसान्तसम्म चार करोड १० लाख नाफा कमाएको हो। १४ करोड २९ लाख आम्दानी र १० करोड १९ लाख खर्च भएको सहकारीले जनाएको छ। सहकारीको चालु वर्षको अन्त्यसम्म चुक्ता पुँजी १० करोड ७३ लाख छ भने चार करोड २७ लाख जगेडा कोष पुगेको छ। सहकारीले एक वर्षमा एक अर्ब १३ करोड कुल कारोबार गरेको सहकारीका प्रवन्धक मिलन ढकालले जानकारी दिए। उनका अनुसार सहकारीले करिब ७७ लाख आयकरसहित एक करोड ३० लाख राजश्व बुझाएको छ।

२०५५ सालमा रोयल कोअपरेटिभको क्षेत्रीय कार्यालयका रुपमा सुरु भएको यो सहकारी २०५९ सालदेखि पोखरा रोयल सहकारीका रुपमा सञ्चालनमा आएको हो। संस्थामा हाल दुर्इ हजार आठ सय ७३सेयर सदस्य छन् भने ३१ जना प्रत्यक्ष रोजगारीमा छन्। सहकारीले मोबाइल बैंकिङ, एबिबिएस सेवा, तीन सय ६५ दिने सेवा प्रदान गर्दै आएको छ भने छिट्टै एटिएमसमेत सञ्चालन गर्ने तयारीमा रहेको ढकालले जानकारी दिए। यसबाहेक प्रौढ साक्षरता कक्षासमेत सहकारीले सञ्चालन गरिरहेको छ।

‘हामी बचत र ऋण लगानीसँगै सामाजिक गतिविधिमा पनि निकै जोडिएका छौं’-ढकालले भने-‘निकट भविष्यमै कृषि पर्यटन परियोजनामा लगानी केन्द्रित गर्ने छौं।’ आफ्ना सदस्यलाई सुरक्षित गर्नका लागि संस्थाले राहत कोष स्थापना गरेर ७५ वर्ष पूरा भएका सदस्यलाई पेन्सनको समेत व्यवस्था गरिरहेको सहकारीका प्रवन्ध निदेशक भीम गुरुङले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता