लोकदोहोरी प्रतिष्ठान गण्डकीद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पोखरा, ३० असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको चौथो अधिवेशनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ।

अधिवेशनको अवसरमा गीत, संगीतका क्षेत्रमा सहयोग गर्ने पत्रकार र कलाकारलाई सम्मान गरिएको हो। यस वर्ष अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. नरबहादुर परियार स्मृति कलाकारिता सम्मान गोरखाका रामचन्द्र अर्याललाई प्रदान गरिएको थियो। यस्तै, स्व. तीथसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार यस वर्ष शुक्रबार साप्ताहिकका पत्रकार मनोज र्घर्तीमगरले पाएका छन्। सबैको राशी पाँच हजार पाँच सय ५५ र सम्मान पत्र छ।

यस्तै, स्व. टेकबहादुर केसी क्रियाशील कलाकारिता पुरस्कारबाट मिना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही नगद तीन हजार तीन सय ३३ र सम्मान पत्र छ।

उत्कृष्ट शाखामा कास्की, उत्कृष्ट संरक्षक सल्लाहकारमा भीम भट्टराई, उत्कृष्ट सदस्यमा सीता केसी र सुरेन्द्र गुरुङ सम्मानित भएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले लोक दोहोरी क्षेत्रलाई राज्यले उपेक्षा गरेको गुनासो गरे।

लोकगायिक हरिदेवी कोइरालाले लोकगीतमा देखिएका विकृति र विसंगतिलाई हटाउनुपर्ने बताइन्।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संरक्षक तथा प्रतिभा छनौट समितिका संयोजक प्रजापति पराजुली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, द्वितीय उपाध्यक्ष विमलराज क्षेत्री, महासचिव रमेश विजी, पूर्व महासचिव विष्णु खत्री, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्ण गुरुङ हेल्मो, नेपाली काँग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डे, एमालेकी उपसचिव प्रभा कोइराला, सम्मानित व्यक्तित्व रामचन्द्र अर्याल, पत्रकार मनोज र्घर्तीमगर, संरक्षक यम गुरुङ, सल्लाहकार नारायण शर्मा, उपत्यका समन्वय समितिका अध्यक्ष पिएन सापकोटा र कास्की अध्यक्ष प्रेमराज अधिकारीले बोलेका थिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी अञ्चल कार्यसमितिका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकरविरही गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता