चितवनमा १० प्रतिशत रोपाइँ

चितवन, १५ असार। अन्तर्राष्ट्रिय हिलो तथा १३ औं राष्ट्रिय धान दिवस बुधबार चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

‘धानअबालीको विकास सामुदायिक नर्सरीको आधार’ भन्ने मूल नाराका साथ जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाइएको हो। भरतपुर उप-महानगरपालिका-२२, देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिटि्रट हवेलीले विशेष कार्यक्रम गरी धान दिवस मनाएको छ।

सो अवसरमा चितवन क्षेत्र नं.४ का सांसद रामकृष्ण घिमिरेले धान रोपेर दिवसको उद्घाटन गरे। कार्यक्रममा थारु समुदायको परम्परागत लौरी नाँच, पञ्चे बाजा, स्थानीय लोकभाकासहित, हात्ती, गोरुसहितको झाँकी प्रदर्शन गरिएको थियो।

कार्यक्रममा हिलोमा भलिबल खेलेर रमाइलो गरिएको थियो। ‘कृषि र पर्यटन सँगसँगै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हवेलीका सञ्चालक देवेन लोहनीले बताए।

धानदिवस मनाइरहँदा जिल्लामा १० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ। रोपाइँ हुने जिल्लाको २९ हजार तीन सय हेक्टर जमिनमध्ये दुर्इ हजार नौ सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ। असार २ गतेदेखि पूर्र्वी चितवनबाट रोपाइँ सुरु भएको हो। अहिले विभिन्न भागमा रोपाइँ चलिरहेको छ। अहिलेको अवस्थामा पानी परिरहने हो भने यो वर्ष २९ हजार हेक्टर क्षेत्रफलमामा नै रोपाइँ हुने अनुमान कार्यालयले गरेको छ।

गत वर्ष रासायनिक मल र इन्धनको अभावसँगै ढिला गरी मनसुन सुरु हुँदा ९७ प्रतिशत अर्थात् २७ हजार तीन सय ४२ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो।

जसका कारण उत्पादन ९२ हजार छ सय २५ मेटि्रकटनमात्र भएको थियो। पहिले कुल खेतीयोग्य जमिन ४६ हजार आठ सय ९४ हेक्टरमध्ये २९ हजार पाँच सय ७५ हेक्टरमा धान लगाइन्थ्यो। जिल्लामा पछिल्लो समय खेतीयोग्य जमिनको प्लाटिङ, माटो काट्ने, पुर्नेजस्ता कारणले खेतीयोग्य जग्गा घटेको हो।

चितवनमा सावित्री, राधा चार, सोना मन्सुली, साँवा एक, हर्दिनाथ, राम धान, स्वर्ण साँवा एक, मकवानपुर-१ लगायतका विकासे जात र युएस-२, ३ जस्ता हाइब्रिड जातका धान लगाउने गरिन्छ।

- अादर्श समाज सम्वाददाता