कास्कीमा ३० प्रतिशत रोपाइँ

कास्कीमा हालसम्म ३० प्रतिशतमात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यलय कास्कीले जनाएको छ।

ropai_masina

यस वर्ष समयमै बर्षा भएकाले ३० प्रतिशत खेतमा धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले बताए।

असार १५ सम्म कास्कीको करिब ५० प्रतिशत खेतमा धान रोपाइँ हुनसक्ने कोइराला अनुमान लगाउँछन्। कोइरालाले कास्कीमा २५ हजार छ सय हेक्टरमा वर्षे धान र चार सय ५० हेक्टरमा हिउँदे धान उत्पादनहुँदै आएको जानकारी दिए। कास्कीको पोखरालगायत लेखनाथको सहरी विकाससँगै केही जग्ग्ाामा प्लटिङ र घरजग्गाको बस्ती विकास हुँदा यहाँको केही खेतीयोग्य जमिन घटेको हो।

कास्कीमा मुख्य गरी जेठोबुढो धान रोप्ने प्रचलन छ। यसमा चाँडो गबारो लाग्ने सम्भावना भएकाले सकेसम्म कम उमेरको १५ देखि २० दिनसम्मको विउबाट जेठो बुढो धान रोपेमा गवारो रोग लाग्ने सम्भावना कम हुन्छ।

जेठोबुढोका अलावा एक्ले, मइसरालगायतका स्थानीय जातका धान पनि कास्कीका बिभिन्न स्थानमा रोप्ने गरिन्छ। यस्तै, रामधान, खुमल-४, खुमल-८ र खुमल-१० जस्ता उन्नत जातका धान पनि कास्की लगाइन्छ।

किसानले खेतवारीमा रासायनिक मलभन्दा प्राङ्गरिक मल कम प्रयोग गर्दा धानको उत्पादनमा कमी आएको छ। नाइट्रोजन, फस्फोरस र पोटासियम मिलाएर अथवा गेडे मल र डीएपी पोटासियमको मात्रा मिलाएर मलको प्रयोग गरे धानको उत्पादन बढ्ने विज्ञहरू बताउँछन्। अहिले कम्पोष्ट र प्राङ्गरिक मल बजारमा सहज रुपमा उपलब्ध छ।

- अादर्श समाज सम्वाददाता