पिस सिटीद्वारा विद्यालयलाई सहयोग

पोखरा, १४ असार। लायन्स क्लब अफ पोखरा पिस सिटीले तनहुँको एक विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र दमौली युनेस्को क्लबको सहयोगमा अरुणोदय, टक्रे भञ्ज्याङस्थित बाल विकास निमाविमा उक्त सामाग्री प्रदान गरिएको हो।

क्लबका अध्यक्ष टंकराज अधिकारी, संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानालगायतले विद्यालयका प्रधानाध्यापक रामजी सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा र विद्यालय बाल क्लबका अध्यक्ष सन्तुकला थापालाई सामाग्री हस्तान्तरण गरे।

क्लबकै पहलमा उक्त विद्यालयमा पुस्तकालयसमेत स्थापना भइसकेको छ।

कार्यक्रममा क्लब अध्यक्ष टंकराज अधिकारीले सामाग्रीले विद्यार्थीमा रहेको खेलकुद प्रतिभामा थप टेवा मिल्ने बताए।

क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले क्लबको आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल, सहायक प्रधानाध्यापक मुक्तिनाथ सिग्देल र बाल क्लबका अध्यक्ष सन्तुकला थापाले सहयोगप्रति आभार व्यक्त गरे।

- एजेन्सी