अलैंची व्यवसायीको विकास बोर्ड माग

लमजुङ, १४ असार। जिल्लाका अलैंची किसान तथा व्यवसायीले अलैंची खेती प्रवर्द्धन तथा बजारीकरणका लागि राष्ट्रिय नीति तय गर्न विकास बोर्ड गठन गर्न माग गरेका छन्।

नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालयले लमजुङका किसान तथा व्यवसायीसँग गरेको अन्तक्रिर्यामा सहभागीले यस विषयमा सरकारको स्पष्ट राष्ट्रिय नीति आउनु आवश्यक रहेको बताए। उनीहरूले नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने कृषिजन्य बस्तुमा अलैंची खेती पहिलो नम्बरमा पर्ने दाबी गर्दै त्यस्तो माग गरेका हुन्।

राष्ट्रिय नीति तथा अलैंची विकास बोर्ड बन्न नसक्दा व्यवसायको प्रवर्द्धन र बजारीकरणमा समस्या भएको उनीहरुको गुनासो छ। कफी र चियाको व्यापार प्रवर्द्धन गर्न बोर्ड गठनजस्तै अलैंचीको पनि बोर्ड गठन गर्नुपर्ने उनीहरूको माग छ।

महासंघका महासचिव ओमकृष्ण विमलीले नेपाली कृषकको उत्पादनको लाभका लागि भारतीय बजार र व्यवसायीमा निर्भर हुनुपर्ने यहाँको मुख्य समस्या रहेको बताए। अलैंचीसम्बन्धी स्पष्ट नीति नहुँदा यस्तो समस्या देखिएको उनको भनाइ छ। क्षेत्रअनुसार फरक दरको कर उठाउने गरिँदा पनि कृषक निरास भएको उनले बताए।

व्यवसायीहरूले राष्ट्रिय नीति घोषणा गरेमा अलैंची खेती विस्तार, उत्पादनमा बृद्धि र तेस्रो मुलुकमा निर्यात बढ्ने बताए।

अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले अलैंची व्यवसायमा देखिएका समस्या समाधान गर्न अलैंची विकास बोर्ड गठन गर्न आवश्यक रहेको बताए। उनका अनुसार व्यवसायीले भारतको माग अनुसार बेच्नु परेकाले किसानले घाटा बेहोर्नुपरेको छ। उनले अलैंचीको राष्ट्रिय नीति बनाएर लगानी बढाउन सरकारसँग माग गरे।

महासंघका अध्यक्ष भट्टराईले लमजुङको अलैंचीलाई पहिलो पटक नेपाली ट्रेडमार्कसहित विश्व बजारमा पठाउने तयारी गरिएको बताए। उनले यसका लागि अलैंचीको ग्रेडिङ छुट्टाउने काम भइरहेको बताएका छन्। कार्यक्रममा महासंघका उपाध्यक्ष राजकुमार कार्कीले अव्यावहारिक कर नीतिले लगानीअनुरूपको प्रतिफल कृषकले नपाएको गुनासो गरे।

- अादर्श समाज सम्वाददाता